गाजामा युद्ध चर्किंदै गर्दा कायरोमा पुनः वार्ता सुरु

कायरो । मध्यस्थकर्ताहरूले शनिबार गाजा युद्धविराम वार्ताको महत्वपूर्ण मानिएको यो सप्ताहन्तमा वार्ताको लागि तयार भएका छन् ।
संयुक्त राज्य अमेरिका, इजिप्ट र कतारले गाजामा हमास प्यालेस्टिनी लडाकू र इजरायलबीच जारी युद्ध अन्त्यका लागि महिनौंदेखि सम्झौतामा पुग्ने प्रयास गरिरहेका छन् ।
हमासले प्यालेस्टिनी क्षेत्रमा युद्ध चर्किरहेको बताउँदै कायरोमा आफ्नो प्रतिनिधिमण्डल पठाएको भएपनि युद्धविराम वार्तामा भाग नलिने बताएको छ ।
अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी गरेको अकल्पनीय आक्रमणपछि सुरु भएको युद्धले गाजालाई तहसनहस बनाएको छ । युद्धका कारण गाजामा लगभग सबै जनसङ्ख्यालाई कम्तीमा एकपटक विस्थापित गरेको छ र मानवीय सङ्कट निम्त्याएको छ ।
ह्वाइट हाउसले गाजा–इजिप्ट सीमामा इजरायली सेनाको सम्भावित स्थायी उपस्थिति एक प्रमुख विन्दुको रूपमा देखा परे पनि यस हप्ताको पछिल्लो चरणमा प्रगति भएको बताएको छ ।
महिनौंसम्म युद्धविराम र बन्धक मुक्त गर्ने वार्ताको दौडान आशा देखिएका भनेका विगतका घटनाहरू सधैँ निराधार साबित भएका छन् ।
हमासका एक वरिष्ठ अधिकारीले इस्लामिक समूहको एक प्रतिनिधिमण्डल कायरोतर्फ जान लागेको तर वार्तामा सहभागी नहुने बताएका छन् । बरु उनीहरूले इजिप्टका वरिष्ठ अधिकारीहरूसँग वार्ताबारे जानकारी लिनेछन् ।
प्रतिनिधिमण्डललाई ‘ब्रिफिङ गरिनेछ, तर यसको अर्थ यो होइन कि उसले वार्तामा प्रत्यक्ष भाग लिन्छ,’ नाम नबताउने शर्तमा ती अधिकारीले एएफपीलाई बताए।
अधिकारीका अनुसार हमासले इजरायललाई इजिप्टसँगको सीमा क्षेत्र फिलाडेल्फिया करिडोरसहित गाजाबाट आफ्ना सबै सेना फिर्ता गर्न आग्रह गर्नेछ ।
– ‘निर्णायक कदम’ –
वार्ताको आधार भनेको अमेरिकी राष्ट्रपति जो बाइडनले मे ३१ मा तयार पारेको प्रस्ताव हो र यसलाई उहाँले इजरायली प्रस्तावको रूपमा व्याख्या गरेका छन् ।
हमासका अर्का एक अधिकारीले शनिबार ‘हमासका नेता याह्या सिनवारसहितको नेतृत्व’ बाइडनको योजनामा सहमत भइसकेको र ‘यसको शब्दमा संशोधन नगरी यसलाई लागू गर्न’ चाहेको बताएका छन् ।
बाइडेनले तयार पारेको र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले अनुमोदन गरेको तीन चरणको योजनामा सुरुमा इजरायली जेलमा प्यालेस्टिनीहरूका लागि बन्धकहरूको आदानप्रदान हुनेछ, जसलाई बाइडनले छ हप्तासम्म ‘पूर्ण युद्धविराम’ भनेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजिप्टबाट हतियार तस्करी गरेर हमासले आफ्नो शक्ति पुनः निर्माण गर्नबाट रोक्न आवश्यक रहेको तर्क गर्दै करिडोरमा सेना राख्नुपर्नेमा जोड दिँदै आएका छन् ।
ह्वाइट हाउसका अनुसार कायरो वार्तामा अमेरिकी गुप्तचर संस्था सीआईएका प्रमुख विलियम बन्र्ससहितका अमेरिकी अधिकारी, इजरायली गुप्तचर संस्था र घरेलु सुरक्षा सेवाका प्रमुखसमेत सहभागी हुनेछन् ।
वार्तामा संलग्न इजिप्टका एक स्रोतका अनुसार अमेरिकाले इजरायल र हमासबीचको दूरी कम गर्न मध्यस्थकर्तासँग नयाँ प्रस्तावबारे छलफल गरिरहेको छ ।
स्रोतका अनुसार आइतबारको ‘विस्तृत चरणको वार्ता’ नेतन्याहूलाई दबाब दिन सकेमा घोषणा गरिने सम्झौता तयार गर्ने दिशामा महत्वपूर्ण कदम हुनेछ ।
एएफपीका संवाददाता र नागरिक सुरक्षा उद्धार स्रोतहरूले हमासद्वारा सञ्चालित क्षेत्रमा इजरायली तोपखाना र हवाई आक्रमण जारी रहेको जानकारी दिएसँगै गाजामा शनिबार झडप सुरु भएको थियो ।
गाजा शहरको जेइटुन क्षेत्रमा प्यालेस्टिनी लडाकू र इजरायली सैनिकबीच भिडन्त भएको, गोली हानाहान र विस्फोटको आवाज गुञ्जिएको एएफपीका एक संवाददाताले बताएका छन् ।
दक्षिणी गाजाको खान युनिसको पश्चिममा रहेको एक घरमा रातभर भएको आक्रमणमा एक महिला र चार बालबालिकासहित ११ जनाको मृत्यु भएको नासिर अस्पतालका एक चिकित्सकले बताएका छन् ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४८ घण्टामा ६९ जनाको मृत्यु भएको छ ।
इजरायली सेनाले गत दिन रफाहको ताल अल–सुल्तान क्षेत्रमा भएको भिडन्त र आक्रमणमा दर्जनौं लडाकूलाई ‘मारिएको’ बताएको छ ।
संयुक्त राष्ट्रसङ्घले बिहीबार दिएको जानकारीअनुसार इजरायली सेनाले वस्ती खाली गर्न दिएको आदेशपछि दशौँ हजार सर्वसाधारण देइर अल–बालाह र खान युनिसबाट बाहिरिएका छन् ।
प्रतिक्रिया