बिहीबार, असार १९, २०८२

फुङचुकको पैदल यात्रा

नेपालखोज २०८१ भदौ १८ गते १४:०५

इनोभेटर तथा जलवायु कार्यकर्ता सोनाम वाङ्चुकको नेतृत्वमा लद्दाखका १०० भन्दा बढी मानिसले दिल्लीसम्मको पैदल यात्रा सुरु गरेका छन् । सेप्टेम्बर १ बाट सुरु भएको यो मार्चको उद्देश्य केन्द्र सरकार तथा लद्दाखको नेतृत्वबिच चार बुँदे एजेन्डामा पुनः वार्ता सुरु गर्नु हो ।

यी तिनै सोनाम हुन जसको उल्लेख बलिउडकर्मी आमिर खानको चलचित्र थ्रीइडियटमा प्रतिभाशाली छात्र फुङचुकका रूपमा भएको छ भने उनको नेपाल भ्रमण पनि एकताका नेपाली मिडियाहरूमा छाएको थियो ।

लेह एपेक्स बडी (LAB) र कारगिल डेमोक्रेटिक एलायन्स (KDA) ले संयुक्त रूपमा यो ‘दिल्ली चलो पदयात्रा को आयोजना गरेका हुन । उनीहरूले विगत ४ वर्षदेखि लद्दाखलाई राज्यको दर्जा दिन, स्थानीय अधिकारको संरक्षण गर्न संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न, लद्दाखका लागि लोकसेवा आयोगलगायतको भर्ना प्रक्रियालाई सहज बनाउन माग गर्दै आएका छन् । यसबाहेक लेह र कारगिल जिल्लाका लागि छुट्टै लोकसभा सिटको माग पनि छ । यसअघि सोनाम वाङचुक सहित स्थानीयवासीहरु यही मागलाई लिएर मार्च महिनामा भोक हडतालमा ओर्लिएका थिए ।

सोनाम वाङ्चुकले २ अक्टोबर अर्थात् गान्धी जयन्तीको दिन दिल्ली पुगेपछि सरकारले आफ्ना मागहरूसँग सम्बन्धित राम्रो समाचार दिने आशा व्यक्त गरेका छन् । यो मुद्दामा आफूले महिला, वृद्ध, युवा लगायत समाजका सबैको पूर्ण सहयोग पाइरहेको वाङचुक बताउँछन् । उनी भन्छन् – सरकारले लद्दाखका जनताको माग जति सक्दो चाँडो पूरा गर्नुपर्छ । सन् २०१९ मा जम्मू कश्मीरबाट धारा ३७० हटाइएपछि लद्दाख अहिले केन्द्र शासित प्रदेश हो ।

प्रतिक्रिया