बिहीबार, असार १९, २०८२

युक्रेनसँग शान्ति वार्ताका लागि रूस तयार रहेको रूसी राष्ट्रपति पुटिनको भनाइ

नेपालखोज २०८१ भदौ २० गते २०:२३

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बिहीबार बताएका छन् ।

रूसले वार्तालार्ई कहिल्यै इन्कार नगरेको तर वार्ता युक्रेनको मागमा मात्र आधारित नहुने उनले बताए । उनले वार्ताहरू इस्तानबुलमा हस्ताक्षर गरिएका कागजातमा आधारित हुनुपर्नेमा उनले जोड दिए ।

‘हामी युक्रेन सरकारका प्रतिनिधिसँग सम्भावित शान्ति वार्ताका सबै मापदण्डमा पुगेका थियौँं,’ रूसको भ्लादिभोस्तोक शहरमा रूसको पूर्वी आर्थिक मञ्चमा प्रश्नोत्तर सत्रका क्रममा पुटिनले भने ।

उनले भने, ‘हामीले वार्ता गर्न कहिल्यै इन्कार गरेका छैनौँ । उनीहरूसँग वार्ता गर्न तयार छौँ तर केही क्षणिक मागका आधारमा होइन । इस्तानबुलमा सुरु गरिएको वार्तामा पेश भएका कागजातहरूको आधारमा वार्ता हुनुपर्छ । त्यो वास्तवमा सहमति थियो ।’

मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको केही समयपछि क्रेमलिनले सन् २०२२ को वसन्त ऋतुमा रूस र युक्रेन सम्झौताको नजिक पुगेको दाबी गर्दै आएको छ ।

पुटिनले भने, ‘हामी सहमतिमा पुग्न सफल भएका थियौँ, युक्रेनी प्रतिनिधिमण्डलका प्रमुखले यो दस्तावेजको सुरुवात गरेका र हस्ताक्षर पनि गरेका थिए । यो नैै तत्कालिन सहमतिको प्रमाण हो, जसको अर्थ युक्रेनी पक्ष सामान्यतया भएका सम्झौताहरूबाट सन्तुष्ट थियो ।’

पुटिनले वार्ता असफल हुनुमा युक्रेनका पश्चिमा सहयोगीहरूको हात रहेको दाबी गर्दै भने, ‘अमेरिका, युरोप र केही सम्भ्रान्त युरोपेली मुलुकका सदस्यले रूसलाई रणनीतिक रुपमा पराजित गर्न चाहेकाले मात्र यो लागु नभएको हो ।’

प्रतिक्रिया