नागरिकको सतर्कताले दैलेखमा कोरोना संक्रमण बढेन
काठमाडौं । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर नेपालमा पछिल्लो पटक वृद्धि भइरहेको छ । लकडाउनको समयमा सामान्य देखिएको संक्रमणदर लकडाउन खुला भएसँगै बढ्दै गएको छ ।
तर, दैलेख जिल्ला कोरोनाको रेडबाट ग्रिन जोनतर्फ प्रवेश गरेको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये कोरोनाका धेरै बिरामी देखिएपछि संक्रमण फैलिने उच्च जोखिम रहेको भन्दै सरकारले दैलेख जिल्लालाई कोरोनाको रेड जोनमा राखेको थियो ।
चार महिनादेखि कोरोना महामारी समस्या झेल्दै आएको दैलेखमा पछिल्ला दिन कोरोनाका धेरै बिरामी निको भइसकेका छन् । दुई वटा तरिकाबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट सन्तोषजनक आएपछि दैलेख ग्रिन जोनतर्फ प्रवेश गरेको कोरोना विपद् व्यवस्थापन समिति दैलेखका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवाराज कट्टेलले बताए ।
जिल्लास्तरको कोरोना विपद् व्यवस्थापन समिति, स्वास्थ्य सेवा कार्यालय, सुरक्षा निकाय, स्थानीय सरकारहरु र नागरिकहरुले देखाएको सतर्कताका कारण दैलेखमा कोरोनाका बिरामी बढ्न नपाएकाले आफुहरु कोरोना संक्रमणदर कम गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए ।
पछिल्ला दिन जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै जानु जिल्लाका लागि राम्रो संकेत हो । ११ वटा स्थानीय तह रहेको दैलेख जिल्लामा हिजोसम्मको तथ्यांकअनुसार ९ सय ३४ जना कोरोनाका बिरामीमध्ये ९ सय ९ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने हालसम्म ३ जनाले ज्यान गुमाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थिरप्रसाद रेग्मीले बताए ।
हिजोसम्मको विवरणअनुसार दैलेखका विभिन्न आइसोलेसनमा २५ जना कोरोनाका बिरामी उपचाररत छन् । जसमा स्वास्थ्य सेवा कार्यालयको आइसोलेसनमा १४, दुल्लु अस्पतालको आइसोलेसनमा १, महाबु आइसोलेसनमा ९, डुंगेश्वर आइसोलेसनमा १ जना गरी जम्मा २५ जना कोरोनाका बिरामीको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन रेग्मीले बताए ।
कोरोना संक्रमितको आधारमा दैलेख जिल्लाले रेडबाट ग्रीनजोनमा प्रवेश गरेको तर मानिस भारत तथा तेस्रो मुलुकदेखि जिल्ला भित्रिने क्रममा नरोकिएकाले फेरि पनि समुदायमा संक्रमण फैलिन सक्ने जोखिम कायमै रहेकाले सबै पालिकाले जिल्ला भित्रिने प्रत्येक व्यक्तिको कडा रुपमा लगत राख्ने तथा उनीहरुलाई आइसोलेशनमा राख्नेलगायतका कार्य गर्न आवश्यक रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन रेग्मीले बताए ।
पछिल्ला दिनहरुमा समुदायस्तरमा गरिएको कन्ट्याक ट्रेसिङबाट कोरोना पोजेटिभ नदेखिनु, आइसोलेसनमा रहेका धेरै बिरामी निको भई घर फिर्नुले दैलेख जिल्लामा कोरोना जोखिम घट्दै गएको देखिन्छ । तर, जोखिम घट्दै गएको भन्दै लापरवाही गरिए फेरि संक्रमणदर भयाभह हुन सक्ने स्थिति नआउला भन्न सकिन्न । तसर्थ लापरवाही नगरी अझ बढी सर्तकता अपनाएर जोखिम न्यूनिकरणतर्फ ध्यान दिनसके दैलेख जिल्ला कोरोना मुक्त जिल्ला बन्नेमा कुनै आशंका छैन ।
प्रतिक्रिया