सबैभन्दा ठुला कार्बन उत्सर्जक

काठमाडाैं । हालै जारी एक नयाँ प्रतिवेदन अनुसार सन् २०१६ यता विश्वमा भएको कुल कार्बन डाइअक्साइड उत्सर्जनको ठुलो अंशमा ५७ वटा उत्पादक कम्पनी मुख्य रूपमा जिम्मेवार छन्।
गैर-लाभकारी संस्था इन्फ्लुएन्सम्याप (InfluenceMap ) को एक रिपोर्ट अनुसार २०१६ यता संसारमा कुल कार्बन डाइअक्साइड उत्सर्जनका लागि केवल ५७ वटा जीवाश्म इन्धन तथा सिमेन्ट उत्पादकहरू जिम्मेवार छन् । यो प्रतिवेदनको शीर्षक ‘कार्बन मेजर’ हो ।
८० प्रतिशत योगदान
समाचार एजेन्सी रोयटर्सका अनुसार यो सूचीमा केही देश, सरकारी कम्पनी तथा लगानीकर्ताको स्वामित्वमा रहेका कम्पनीसहित ५७ उत्पादक छन्। यी सबैले २०१६ र २०२२ को बीचमा विश्वको कुल कार्बन डाइअक्साइड उत्सर्जनको ८० प्रतिशत योगदान दिएका थिए ।
अरामको ( aramco )
आरामको साउदी अरबको राष्ट्रिय तेल कम्पनी हो। यो राजस्वको हिसाबले विश्वको दोस्रो ठुलो कम्पनी मानिन्छ। कार्बन मेजर्स रिपोर्ट अनुसार यो विश्वको सबैभन्दा ठुलो कार्बन उत्सर्जक कम्पनी हो।
ग्याजप्रोम (gazprom )
रुसी बहुराष्ट्रिय कम्पनी ग्याजप्रोम कार्बन उत्सर्जनको मामिलामा दोस्रो स्थानमा छ । यो कम्पनीमा रुसी सरकारको स्वामित्व छ। यसलाई शेयर बजारमा सूचीकृत विश्वको सबैभन्दा ठुलो प्राकृतिक ग्यास कम्पनीका रूपमा चिनिन्छ ।
कोल इन्डिया
ग्याजप्रोम पछि भारतको कोइला कम्पनी कोल इन्डिया तेस्रो स्थानमा छ। यो कम्पनी पूर्ण रूपमा भारत सरकारको स्वामित्वमा छ। यसलाई विश्वको सबैभन्दा ठुलो सरकारी कोइला उत्पादकका रूपमा समेत चिनिन्छ।
पेरिस सम्झौता ताकमा
प्रतिवेदन अनुसार सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घको पेरिस सम्झौतामा विश्वभरका देशहरूले हस्ताक्षर गरे पनि अधिकांश कम्पनीले आफ्नो जीवाश्म इन्धनको उत्पादन घटाउनुको सट्टा बढाएका छन्। त्यस बेलादेखि, धेरै सरकार र कम्पनीहरूले कडा उत्सर्जन लक्ष्यहरू तोकेका छन्, तर तिनले व्यवहारमा पहिलेको तुलनामा धेरै जीवाश्म इन्धन उत्पादन गरे जसले गर्दा पृथ्वीमा कार्बन उत्सर्जन विनाशक रूपमा बढेको छ ।
प्रतिक्रिया