पर्यटकलाई आकर्षित गर्न पुरानो भिसा प्रणालीमा फर्किँदै श्रीलङ्का

वासिङ्टन । मुलुकको सर्वोच्च अदालतले भिसा प्रशोधन विदेशी कन्सोर्टियमलाई आउटसोर्स गर्ने विवादास्पद करोडौँ डलरको सम्झौतालाई निलम्बन गरेपछि श्रीलङ्काले पर्यटनलाई प्रोत्साहन गर्न अनलाइन भिसा आवेदन प्लेटफर्म पुनःस्थापना गरेको छ ।
मुलुकको अर्थतन्त्र सन् २०२२ को वित्तीय सङ्कटबाट विस्तारै बाहिर निस्कँदै गर्दा यो कदम मुलुकको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न लक्षित रहेको नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेको सरकारले बिहीबार राति बताएको थियो ।
पर्यटकहरूले अब भारतस्थित भिएफएस ग्लोबलले लिने २५ डलर शुल्क नतिरी अनलाइन भिसाका लागि आवेदन दिन सक्नेछन् । भिएफएस ग्लोबलले अप्रिलमा अघिल्लो सरकारबाट आउटसोर्सिङ सम्झौता जितेको थियो ।
अधिकारकर्मीहरूले अदालतमा सम्झौता पारदर्शी तरिकाले प्रदान नगरिएको आरोप लगाउँदै कन्सोर्टियमले १६ वर्षको अवधिमा दुई अर्ब ७५ करोड डलरसम्म कमाउन सक्ने बताए ।
अगस्टमा श्रीलङ्काको सर्वोच्च अदालतले अध्यागमन अधिकारीहरूलाई भिएफएसलाई प्रदान गर्नुअघि प्रयोग गरिएको उक्त अनलाइन प्लेटफर्ममा फर्कन आदेश दिएको थियो ।
राष्ट्रपति दिसानायकेको कार्यालयले बिहीबार वक्तव्यमा भनेको छ, ‘भिएफएस ग्लोबलले प्रदान गरेको भिसा सुविधाले धेरै मानिसलाई उल्लेखनीय कठिनाइ निम्त्याएको छ ।’ साथै विदेशीहरूले भिसा प्राप्त गर्न चुनौतीको सामना गर्नुपरेको पनि कार्यालयले बताएको छ ।
सर्वोच्च अदालतको फैसलाको निर्णय पालना नगरेको आरोपमा बुधबार अध्यागमन प्रमुख हर्ष इलुकपिटियालाई पक्राउ गरिएको थियो ।
प्रतिक्रिया