हाइटी हिंसामा कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

जेनेभा । संयुक्त राष्ट्रसङ्घले हाइटीमा जारी हिंसामा यस वर्ष तीन हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ ।उत्तर अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा व्याप्त हिंसा र अराजकताले यहाँको शिक्षा र स्वास्थ्य प्रणालीलाई प्रभावित बनाएको छ ।
आफूलाई विद्रोही भनेर चिनाउने गिरोहले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेको छ । हाइटीमा सन् २०२४ को पहिलो छ महिनामा करिब छ लाख मानिस विस्थापित भएका छन् भने २९५ महिला र ६३ बालबालिकासहित एक हजार २८० जना घाइते भएका राष्ट्रसङ्घीय मानवअधिकार कार्यालय (ओएचसीएचआर) ले जनाएको छ ।
त्यस अवधिमा २५ जना बालबालिकासहित कम्तीमा ८९३ जनालाई राजनीतिक सङ्कट र कमजोर राज्य सत्ताले छोडेको शून्यतामा सत्ताका लागि होडबाजी गरिरहेका आपराधिक समूहहरूले अपहरण गरी फिरौतीका लागि बन्धक बनाएका थिए ।
‘यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु भएको छ,”संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले भने, ‘यस मूर्खतापूर्ण अपराधका कारण अब कुनै पनि व्यक्तिको ज्यान गुमाउनु हुँदैन ।’
ओएचसीएचआरले हाइटीका अधिकारी र अन्तर्राष्ट्रिय समुदायलाई क्यारेबियाली टापुका मानिसहरूको सुरक्षाका लागि थप कदम चाल्न आग्रह गरेको छ । गिरोहले यस वर्ष आफ्नो कार्यप्रणाली परिवर्तन गरेको बताइएको छ ।
केही पीडितहरू अन्धाधुन्ध चलेका गोली लागि मारिएका थिए भने अन्यलाई अधिकारीहरूलाई जानकारी दिएको वा गिरोहका गतिविधिहरूको विरोध गरेको आरोपमा दिनदहाडै मृत्युदण्ड दिइएको थियो । ’तीमध्ये केहीको शरीरलाई धारिलो हतियारले क्षतविक्षत पारेर जलाइएको थियो।
प्रतिवेदनमा भनिएको छ, “गिरोहहरूले समाजमा डर पैदा गर्न र जनसङ्ख्यालाई आफ्नो वशमा लिन वा नियन्त्रण गर्न दृश्यहरूको छायाङ्कन गरी सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक गरेका थिए । प्रतिवेदनमा गिरोहले ‘दण्डित गर्न, डर फैलाउन र जनङ्ख्यालाई वशमा पार्न’ यौन हिंसाको प्रयोग जारी राखेको उल्लेख गरिएको छ ।
पोर्ट–ओ–प्रिन्समा प्रहरी कारबाही र गस्तीका क्रममा कम्तीमा ८६० जनाको मृत्यु हुनुका साथै ३९३ जना घाइते भएका छन् जसमा कम्तीमा ३६ जना बालबालिका रहेका छन् । गिरोहले ठूलो सङ्ख्यामा बालबालिकालाई पनि आफ्नो समूहमा भर्ती गरेको छ । हाइटीमा अनुमानित १६ लाख मानिसले आपतकालीन स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।
सन् २०२३ को अक्टोबरमा संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्ले केन्याको नेतृत्वमा बहुराष्ट्रिय स्थिरीकरण बललाई हाईटीको प्रहरीलाई सहयोग गर्न पठाउने अनुमति दिएको थियो ।
प्रतिक्रिया