सोमबार, असार १६, २०८२

५० हजारभन्दा बढी व्यक्ति लेबनानबाट सिरियातर्फ पलायन : राष्ट्रसङ्घ

नेपालखोज २०८१ असोज १२ गते २२:०४

बेरुत, लेबनान । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले लेबनानमा इजरायली हवाई आक्रमण बढेपछि ५० हजारभन्दा बढी मानिस सिरियातर्फ भागेको शनिबार बताएका छन् ।

‘लेबनानमा बसोबास गर्ने ५० हजारभन्दा बढी लेबनानी र सिरियाली नागरिक इजरायली हवाई आक्रमणबाट भागेर सिरिया प्रवेश गरेका छन्,’ ग्रान्डीले भने । उनले आक्रमणका कारण लेबनानभित्र दुई लाखभन्दा बढी मानिस विस्थापित भएको बताए ।

युएनएचसीआरका एक प्रवक्ताले लेबनानमा कुल विस्थापितको सङ्ख्या दुई लाख ११ हजार ३१९ पुगेको र इजरायलले सोमबार नाटकीय रूपमा हवाई आक्रमण बढाएयता एक लाख १८ हजार रहेको बताएका छन् ।

गत अक्टोबर ७ मा हिजबुल्लाहको प्यालेस्टिनी सहयोगी हमासले इजरायलमाथि आक्रमण गरेको एक दिनपछि लेबनानबाट हिजबुल्लाहका लडाकूले सीमापार आक्रमण सुरु गरेको र प्रतिवादमा इजरायलले गाजा पट्टीमा आक्रमण सुरु गरेपछि लाखौँ गाजाबासीहरू आफ्नो घर छोडेर पलायन हुन बाध्य भएका थिए ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गाजाबाट आफ्नो अभियानको ध्यान लेबनानमा केन्द्रित गरेको छ । लेबनानमा सोमबार भएको भारी बमबारीमा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

लेबनानमा सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछिको यो सबैभन्दा घातक दिन बनेको थियो भने शुक्रबारको आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको लेबनानमा मृत्यु भएको थियो ।

प्रतिक्रिया