सोमबार, असार १६, २०८२

नोबेल जित्नु ‘भूकम्प’ जस्तै : रुभ्कन

नेपालखोज २०८१ असोज २१ गते २१:०६

स्टकहोम । माइक्रोआरएनए पत्ता लगाउने अमेरिकी वैज्ञानिक ग्यारी रुभ्कनले अर्का अमेरिकी भिक्टर एम्ब्रोसका साथमा सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् ।

रुभ्कनले यो सम्मान जित्नु ‘भूकम्प’ जस्तै भएको बताए । ‘यो ठूलो कुरा हो, यो ठूलो भूकम्प जस्तै हो’, ७२ वर्षीय हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक रुभ्कनले स्टकहोममा पुरस्कार घोषणा गरिएलगत्तै स्विडिश सार्वजनिक रेडियो एसआरएलाई भने ।

सोमबार बिहान अमेरिकामा नोबेल पुरस्कार समितिको फोनले उनको निद्रा खुलेको थियो । ‘बाहिर अँध्यारो छ र हामी घरभरि दौडिरहेका छाै भनेर कुकुर अलमलमा परेको छ’, उनले भने ।

उनले डिसेम्बर १० मा स्टकहोममा हुने नोबेल पुरस्कार वितरण समारोहमा सहभागी हुन उत्सुक रहेको बताए । स्टकहोममा स्विडेनका राजा कार्ल सोह्रौँबाट विजेताहरूले पुरस्कार ग्रहण गर्नेछन् ।

उनले पहिला पनि ‘केही पटक’ उक्त समारोहमा सहभागिता जनाएको बताए । ‘यो एउटा पार्टी हो, तपाईँहरू वैज्ञानिकहरूको समूहलाई पार्टी गर्ने जनावरहरू जस्तो सोच्नुहुन्न तर हामी साँच्चै हौँ’, उनले भने ।

नोबेल समितिले एम्ब्रोसलाई सम्पर्क गर्न भने सकेन । उनले पुरस्कृत भएको समाचार एसआरएका एक रिपोर्टरको फोनबाट थाहा पाए । ‘वाह १ यो अविश्वसनीय छ, मलाई थाहा थिएन’, म्यासाचुसेट्स मेडिकल स्कूलका ७० वर्षीय प्राध्यापक एम्ब्रोसले भने, ‘राम्रो, अद्भुत ।’

नोबेल पुरस्कारमा एउटा डिप्लोमा, एउटा सुनको पदक र दुई जनाले बाँड्नुपर्ने १० लाख डलरको चेक समावेश छ ।
सहकार्य गर्दै तर अलग–अलग काम गर्दै उनीहरूले माइक्रोआरएनए पत्ता लगाए । माइक्रोआरएनए साना आरएनए अणुहरूको नयाँ वर्ग हो । यसले नियमनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र बदलामा प्रत्येक कोशिकालाई सान्दर्भिक निर्देशनहरू मात्र छनोट गर्न अनुमति दिन्छ ।

गलत तरिकाले हुने जिन नियमनले क्यान्सर र मधुमेह जस्ता गम्भीर रोग निम्त्याउन सक्छ ।

प्रतिक्रिया