आइतबार, असार १५, २०८२

बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड डलरको क्षति

नेपालखोज २०८१ कार्तिक ४ गते १८:४१

ढाका । बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड अमेरिकी डलर गुमाएको उद्योग सम्वद्ध अधिकारीहरूले आइतबार बताएका छन्।

दक्षिण एसियाली मुलुकका तीन हजार ५०० गार्मेन्ट फ्याक्ट्रीले वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको करिब ८५ प्रतिशत हिस्सा ओगटेका छन्, तर अशान्तिका कारण बङ्गलादेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रमा ठूलो व्यवधान उत्पन्न भएको छ ।

महिनौँ लामो विरोध प्रदर्शनपछि आवामी लीगका नेता शेख हसिना गत अगस्ट ५ मा हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेका थियो भने उनले प्रधानमन्त्री पदबाट राजिनामा दिएको सेना प्रमुखले घोषणा गरेका थिए ।

बङ्गलादेशमा भएको आन्दोलनका कारण भारत पलायन भएकी आवामी लीगकी नेतृ शेख हसिना वाजेदको प्रधानमन्त्री पदबाट राजिनामापछि प्रधानमन्त्री नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ तर गार्मेन्ट फ्याक्ट्रीमा मजदुरहरूले रोजगारी र राम्रो तलबको माग गर्दै प्रदर्शन जारी राखेका छन्।

यस्ता प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुने गर्दथे। गत सेप्टेम्बर ३० मा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एक गार्मेन्ट कामदारको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

बंगलादेश गार्मेन्ट्स एण्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनकी अध्यक्ष कल्पना अख्तरले आइतबार कारखाना मालिक र सरकारको दृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्ने बताए ।

अख्तरले एएफपीसँग भने, ‘ज्याला वृद्धिको बारेमा छलफल तब मात्र हुन्छ जब कामदारहरू सडकमा उत्रन्छन्।’उनले यस क्षेत्रमा स्थिरता सुनिश्चित गर्नका लागि परिवर्तन आवश्यक रहेको बताउँदै अन्यथा श्रमिकहरू चुप लागेर नबस्ने चेतावनी दिए ।

प्रतिक्रिया