आइतबार, असार १५, २०८२

उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ : अमेरिकी रक्षामन्त्री अस्टिन

नेपालखोज २०८१ कार्तिक ७ गते २०:१२

सोल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताएका छन् ।

दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको जानकारी दिएलगत्तै उनले सो कुरा बताएका हुन् ।

रोम भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अस्टिनले वासिङ्टन पोस्टले पोस्ट गरेको भिडियोअनुसार भने, ‘उनीहरूले ठ्याक्कै के गरिरहेका छन् रु त्यो हेर्न बाँकी छ । यी कुराहरू हामीले पत्ता लगाउनु पर्ने विषय हुन् ।’

‘यदि ती सैनिकहरूले रुसको पक्षमा युक्रेन युद्धमा भाग लिए भने यो ‘धेरै गम्भीर मुद्दा’ हुनेछ’, यसले युरोप र इन्डो–प्यासिफिक क्षेत्रमा प्रभाव पार्ने उल्लेख गर्दै उनले भने ।

दक्षिण कोरियाली गुप्तचर निकायले यसै महिना रुसी नौसेनाले एक हजार पाँच सय उत्तर कोरियाली विशेष युद्ध सैनिकलाई रुस लगेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसअघि १० हजार उत्तर कोरियाली सैनिकलाई रुसी आक्रमणकारी सेनामा सामेल हुन तयार पारिँदै गरेको गुप्तचर जानकारी आफ्नो सरकारसँग रहेको बताउनुभएको थियो ।

अमेरिका र नाटोले यसअघि उत्तर कोरियाको कथित सैनिक प्रेषणलाई औपचारिक रूपमा पुष्टि गरेका थिएनन् तर यदि यो सत्य भएमा त्यस्तो विकासको खतराबारे चेतावनी दिएका थिए । रुस र उत्तर कोरियाले अहिलेसम्म सैनिक आवागमनको खण्डन गर्दै आएका छन् ।

दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक चो ताए–योङले बुधबार सांसदहरूलाई अर्को एक हजार पाँच सय उत्तर कोरियाली सैनिक रुस प्रवेश गरेको जानकारी दिएको ब्रिफिङमा सहभागी सांसद पार्क सनवानले बताए ।

चोले सांसदहरूलाई उनको एजेन्सीले उत्तर कोरियाले डिसेम्बरसम्ममा रुसमा कूल १० हजार सैनिक तैनाथ गर्ने लक्ष्य राखेको मूल्याङ्कन गरेको जानकारी दिएको पार्कले पत्रकारहरूलाई बताए ।

प्रतिक्रिया