अमेरिका र कतारले गर्याे गाजा वार्ताको नयाँ घोषणा, ब्लिङ्केनले गरे नयाँ विकल्पहरूको खोजी

दोहा । अमेरिका र कतारले बिहीबार गाजा युद्धविरामको वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भने अमेरिका नेतृत्वको योजना महिनौँसम्म असफल भएपछि मध्यस्थकर्ताहरूले नयाँ विकल्पहरू खोजिरहेको बताएका छन् ।
अमेरिकी निर्वाचन हुन दुई साता बाँकी रहँदा सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणयता ब्लिङ्केन यस क्षेत्रको ११औँ भ्रमणमा हुन् । इजरायलले गत साता लडाकू समूहका नेता याह्या सिनवारको हत्या गरेको थियो ।
ब्लिङ्केनले वार्ताकारहरूले ‘आगामी दिनहरूमा’ एक वर्षे गाजा युद्ध अन्त्य गर्ने र अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने उपायहरूबारे वार्ता पुनः सुरु गर्ने बताए ।
‘हामीले यस क्षणको फाइदा उठाउने र प्रक्रियालाई अगाडि बढाउने अर्को कदमहरूबारे विकल्पहरूमा छलफल गर्यौँ’, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीसँगको वार्तापछि ब्लिङ्केनले भने ।
उनले दुई साझेदारले ‘इजरायल फिर्ता हुनसक्ने, हमास पुनर्गठन हुन नसक्ने र प्यालेस्टिनी जनताले आफ्नो जीवन र भविष्य पुनर्निर्माण गर्नसक्ने’ योजना खोजिरहेको बताए । ‘यो युद्ध अन्त्य गर्न, सबै बन्धकलाई घर फर्काउन र गाजाका मानिसहरूका लागि राम्रो भविष्य निर्माण गर्न काम गर्ने क्षण हो’, उनले भने ।
कतारी प्रधानमन्त्रीले इजरायली र अमेरिकी प्रतिनिधिमण्डलहरू युद्धविरामका लागि दोहामा भेट्ने जानकारी दिए । ब्लिङ्केनले वार्ताबारे थप विवरण दिन अस्वीकार गरे ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मे ३१ मा एउटा योजना प्रस्तुत गरेका थिए । उक्त योजनामा अस्थायी रूपमा लडाइँ रोक्ने र गाजामा हमास लडाकूहरूले राखेका बन्धकहरूको रिहाइको प्रयास गर्ने थियो ।
तथापि वार्ता अल्झियो । यसमा एउटा प्रमुख अड्चन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा–इजिप्ट सीमामा इजरायली सैनिकको उपस्थितिमा जोड दिने अडान थियो ।
प्रतिक्रिया