उत्तर कोरियाले गर्याे क्षेप्यास्त्र प्रक्षेपण

सोल । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ । यो उत्तर कोरियाली नेता किम जोङलाई रुसमा सैनिक पठाएको आरोप लगाएयता उनको पहिलो हतियार परीक्षण हो ।
परमाणु–सशस्त्र उत्तर कोरियाले आगामी हप्ता हुने अमेरिकी चुनावअघि अर्को अन्तर–महाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को परीक्षण वा परमाणु परीक्षणसमेत गर्नसक्ने थियो भनी सोलले एक दिनअघि चेतावनी दिएको थियो ।
यो प्रक्षेपण अमेरिकी र दक्षिण कोरियाली रक्षा प्रमुखहरूले प्योङयाङलाई आफ्ना सैनिकहरूलाई रुसबाट फिर्ता बोलाउन आह्वान गरेको केही घण्टा पछि भएको हो । उनीहरूले उत्तर कोरियाली सैनिकहरू रुसी वर्दीमा युक्रेन विरुद्ध सम्भावित कारबाहीका लागि तैनाथ गरिएको चेतावनी दिएका थिए ।
‘अहिलेसम्मको प्रारम्भिक मूल्याङ्कनअनुसार प्योङयाङले नयाँ ठोस चालित लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हुनसक्छ’, सोलको सेनाले भन्यो । क्षेप्यास्त्र उच्च प्रक्षेपवक्रमा अर्थात् बाहिर नभई माथितिर प्रक्षेपण गरिएपछि करिब एक हजार किलोमिटर उडेको थियो ।
प्रक्षेपण गर्न छिटो र पत्ता लगाउन तथा पहिले नै नष्ट गर्न कठिन उन्नत ठोस–चालित क्षेप्यास्त्रहरूको विकास किमको लामो समयदेखिको लक्ष्य रहेको छ ।
उत्तर कोरियाले प्रतिबन्ध–विपरीत प्रक्षेपणको बचाउ गर्दै यसलाई ‘हाम्रो प्रतिक्रियाबारे प्रतिद्वन्द्वीहरूलाई सूचित गर्ने उद्देश्य पूरा गर्ने एउटा उपयुक्त सैन्य कार्य’ भनेको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीले किमलाई उद्धृत गर्दै बताएको छ ।
परीक्षणले उत्तर कोरियाको ‘रणनीतिक क्षेप्यास्त्र क्षमताको हालैका रेकर्डहरू अपडेट गरेको’ बताइएको छ । किमले आफ्नो देशले ‘आफ्नो परमाणु शक्तिहरू बलियो बनाउने आफ्नो लाइन कहिल्यै परिवर्तन नगर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
टोकियोले ‘आइसिबिएम वर्गको’ क्षेप्यास्त्र उत्तरले पहिले परीक्षण गरेको कुनै पनि भन्दा लामो समयसम्म उडेको बताएको छ । यो करिब ८६ मिनेट हवामा रहेको र सात हजार किलोमिटरको उचाइसम्म पुगेको थियो ।
प्रतिक्रिया