कोरोना कहर: २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट
काठमाडौं । चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण देशको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्था पनि कोरोनाका कारण समस्यामा परेका छन् ।
आर्थिक वर्ष २०७६÷७७ मा अहिले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ । सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६÷७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् ।
उनीहरुले हिजो सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामा समेत असर परेको छ । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०७६÷७७ मा कुल ५१ अर्ब १७ करोड रुपैयाँ बराबरको नाफा गरेका छन् ।
अघिल्लो आवमा ५७ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको नाफा झण्डै ११ प्रतिशतले घटेको छ । विवरणअनुसार बैंकको नाफा ६ अर्ब २७ करोड रुपैयाँले घटेको हो ।
वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये कुल १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको पाइएको छ । विवरणअनुसार सात वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।
प्रतिक्रिया