शनिबार, असार १४, २०८२

आदिवासी प्रतिनिधित्वका लागि संयुक्तराष्ट्र प्रकृति शिखर सम्मेलनद्वारा निकाय स्थापना

नेपालखोज २०८१ कार्तिक १७ गते १३:२३

काली (कोलम्बिया) । विश्वको सबैभन्दा ठूलो प्रकृति संरक्षण सम्मेलनले शुक्रबार कोलम्बियाको कालीमा संयुक्त राष्ट्रसङ्घको जैविक विविधता सम्मेलनअन्तर्गत आदिवासी जनताको हितको प्रतिनिधित्व गर्न एउटा स्थायी निकाय स्थापना गर्न सहमति जनाएको छ ।

एक सय ९६ देशहरूले ‘आदिवासी जनता र स्थानीय समुदायसँग सम्बन्धित विषयहरू’ का लागि समर्पित एउटा ‘सहायक निकाय’ स्थापना गर्न सहमति जनाएपछि परम्परागत पोशाक र शिरपेचमा सजिएका आदिवासी जनताका प्रतिनिधिहरूले हर्षोल्लासका साथ जयजयकार गरेका थिए ।

यो जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसङ्घको सम्मेलनको १६औँ पक्ष सम्मेलन (कोप१६) को पहिलो ठूलो सफलता थियो । यो करिब दुई हप्ताअघि कालीमा सुरु भएको थियो र प्रकृति संरक्षणका योजनाहरूका लागि कोष जुटाउने तरिकाहरूमा प्रतिनिधिहरू बीच मतभेद भएपछि शुक्रबार अतिरिक्त समयसम्म चलेको थियो । ‘यो वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरूको इतिहासमा एक अभूतपूर्व क्षण हो’, चिलीकी आदिवासी प्रतिनिधि कमिला रोमेरोले शिखर सम्मेलनमा खुसी व्यक्त गर्दै भने ।

सम्मेलनको विषय ‘प्रकृतिसँग शान्ति’ रहेको थियो । उनले भने, ‘पक्षहरूले हाम्रो पूर्ण र प्रभावकारी सहभागिता, हाम्रो ज्ञान र नवप्रवर्तन, प्रविधि र परम्परागत अभ्यासहरूको निरन्तर आवश्यकतालाई मान्यता दिएका छन् ।’ प्रतिनिधिहरूले नयाँ सहायक निकायमा अफ्रिकी मूलका समुदायहरूको विशिष्ट भूमिकामा पनि सहमति जनाएका छन् । यद्यपि केही विवरणहरू अझै टुङ्गो लगाउन बाँकी छ । रासस/एएफपी

प्रतिक्रिया