शनिबार, असार १४, २०८२

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त

नेपालखोज २०८१ कार्तिक २१ गते १४:२९

तेल अभीभ, इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गरेका छन् ।

टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।

टाइम्स अफ इजरायलले प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै नेतान्याहूले ग्यालन्टलाई रक्षा मन्त्रीको रूपमा पत्र प्राप्त भएको ४८ घण्टाभित्र पद समाप्त हुने जानकारी दिएको जनाएको छ ।

युद्धको सुरुवाती समयमा विश्वाससहितका कामहरु भएको भएपनि पछिल्लो समयमा विश्वसनियता घट्दै गएको जनाउदै नेतन्याहूले बर्खास्तको विज्ञप्ति जारी गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

रक्षामन्त्रीसँगको विश्वासको सङ्कटले सैन्य अभियानलाई उचित मार्गदर्शन र सक्षम बनाउन नसकिने बताउँदै नेतान्याहूले यस्तो निर्णय गरेको बताएका छन् ।

बर्खास्त भएपछि, ग्यालन्टले इजरायलको सुरक्षाका लागि सक्रिय रहने वाचा गर्दै सामाजिक सञ्जाल एक्सको पोस्टमा इजरायलको सुरक्षा सधैं आफ्नो जीवनको लक्ष्य हुने र यसका लागि सधैँ लागिरहने बताएका छन् ।

प्रतिक्रिया