शुक्रबार, असार १३, २०८२

साउदीमा सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड

नेपालखोज २०८१ मंसिर ३ गते ८:३५

काठमाडौं । साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको एएफपीको तथ्याङ्कले जनाएको छ । यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको छ र यसलाई एक अधिकार समूहले अभूतपूर्व बताएको छ ।

पछिल्लो मृत्युदण्ड शनिबार दक्षिणपश्चिमी क्षेत्र नजरानमा, खाडी राज्यमा लागुऔषध तस्करी गरेको आरोपमा यमनका एक नागरिकलाई दिइएको आधिकारिक साउदी प्रेस एजेन्सीले जनाएको छ।

राज्य मिडिया रिपोर्टहरूबाट सङ्कलित तथ्याङ्कअनुसार यसले सन् २०२४ मा मृत्युदण्ड दिइएका विदेशीहरूको सङ्ख्या एक सय एक पुर्‍याएको छ ।

यो सन् २०२३ र २०२२ को तथ्याङ्कको लगभग तीन गुणाभन्दा बढी हो । साउदी अधिकारीहरूले ती प्रत्येक वर्ष ३४ विदेशीलाई मृत्युदण्ड दिएका थिए ।

बर्लिनस्थित युरोपेली–साउदी मानवअधिकार सङ्गठन ९इएसओएचआर० ले यस वर्षको मृत्युदण्डले रेकर्ड तोडेको बताएको छ ।

“यो एक वर्षमा विदेशीहरूलाई मृत्युदण्ड दिइएको सबैभन्दा ठूलो सङ्ख्या हो । साउदी अरेबियाले एक वर्षमा एक सय विदेशीलाई कहिल्यै मृत्युदण्ड दिएको थिएन”, समूहका कानूनी निर्देशक ताहा अल–हज्जीले भने ।

साउदी अरेबियाले मृत्युदण्डको प्रयोगका कारण निरन्तर आलोचनाको सामना गरिरहेको छ । यसलाई मानव अधिकार समूहहरूले यसको आफ्नो कठोर छवि नरम पार्ने र अन्तर्राष्ट्रिय पर्यटक र लगानीकर्ताहरूलाई स्वागत गर्ने प्रयासहरूसँग असङ्गत भएको भन्दै निन्दा गरेका छन् ।

प्रतिक्रिया