राजा महेन्द्रकाे समयकाे सिक्का !

राजा महेन्द्रको शासनकाल करिव १८ वर्ष रह्यो । राजकाजको दृष्टीकोणले यो अवधी छोटो नै हो । तर यो छोटो अवधीमा पनि धेरै नै बिकासका योजना तथा पूर्वाधारहरुको शुरुवात राजा महेन्द्रले गरेका थिए । हरेक राजाको शासनकालमा राजाका नामांकित सिक्काहरु प्रचलनमा आउने गर्छ । यहि क्रममा राजा महेन्द्रको २०११ चैत १ गते देखि २०२८ माघ १७ गतेसम्मको शासनकालमा पनि धेरै सिक्काहरु तथा कागजी नोटहरु निष्कासन भएका थिए ।
यिनकै राज्यकालको अन्तमा निष्कासित रु ५०० को कागजी नोट संग्रहकको दृष्टीकोणमा सबैभन्दा महंगो नोटमा पर्छ । राजा महेन्द्रको शासनकालमा १ तोलाको असर्फी र १ पैसा देखी रु १० सम्मको ९ मूल्यका सिक्काहरु छापिएका थिए । यसै मध्य मेरो संग्रहमा रहेको पाँच पैसाको अठार प्रकारको २०१३ देखी २०२८ सालसम्म छापिएका सिक्काहरु राखेको छु ।
हरेक सालको सिक्का संकलन गर्न निकै कठिनाइ हुने गर्छ । तर पनि राजा त्रीभुवन देखी राजा वीरेन्द्रको शासनकाल सम्मका हरेक सिक्का हरेक साल तथा किसिमका संकलन गर्ने कोशिस गरेको छु । यि सिक्काहरुमा २०११ देखि २०१३ सालसम्म छापिएका हातको पञ्जा छाप सिक्का भने छुटेको छ ।
यस सिक्काको अग्रभागको बिचमा हिमालमा उडाउँदो सूर्य तथा दायाँ बायाँ धानको बाला, माथिल्लो घेरामा श्री नेपाल सरकार तथा तल्लो घेरामा २०११ (वा २०१२, २०१३, २०१४) लेखिएको छ । पृष्ठभागमा बायाँ हातको पञ्जा छापको दायाँ र बायाँ गरेर पाँच पैसा लेखिएको छ । २०१३ सालमा राजा महेन्द्रको शुभराज्याभिषेकको सिक्काहरुको सेट नै छापिएको थियो ।
जसमा अन्य झै पाँच पैसा सिक्का पनि बिचमा श्रीपेच माथिल्लो अर्घ घेरामा शुभराज्याभिषेक, तल्लो घेरामा श्री ५ महेन्द्र वीर बिक्रम शाहदेव लेखिएको छ । श्रीपेचको दायाँबायाँ चन्द्र र सूर्य, श्रीपेचको तल नेपाल र अझ तल भुइमा २०१३ लेखिएको छ । २०१३ कै घेरामा बायाँतर्फ चक्र, पद्म तथा दायाँ तर्फ गदा र शंख राखिएको छ ।
पृष्ठभागमा बिचमा अष्टमंगल भित्र नेपालीमा ५, माथि श्री भवानी र तल पाँच पैसा लेखिएको छ । ४ ग्राम ताैल, २२.३ मिमी ब्यास तथा १.५२ मिमी मोटाइ भएको यो सिक्का स्तरिय र साधारण गरेर दुइ प्रकारको निस्काशन भएको थियो । २०१४ देखि २०२० सम्मको त्रिशुल भएको सिक्का भने अग्रभागको घेरामा श्री ५ महेन्द्र वीर बिक्रम शाहदेव बिचमा त्रिशुल र दायाँ बायाँ चन्द्र र सूर्य तथा तल नेपाल र निस्काशन साल लेखिएको तामाको सिक्का रहेको छ ।
पृष्ठभागमा अष्टमंगल भित्र नेपाली अंकमा ५, माथि श्रीभवानी र तल पाँच पैसा लेखिएको छ । ३.८५ ग्राम ताैल, २२.५ मिमी ब्यासको रहेको तथा नेपाली अंक ५ भित्र धर्सो रहेको छ । २०२१ साल देखि केही सानो ब्यास २०.९ मिमीको बनाइएको देखिन्छ । पूर्णरुपमा उस्तै भए पनि २०२१ सालमा आलमोनियममा तामा मिसाएर बनाइएको धातुबाट बनेको थियो ।
तर पछिल्लो अन्य सालमा भने निस्काशन भएन । २०२१ देखि २०२३ सालसम्म नियमित तामाको सिक्का निस्काशन भयो । ३.०५ ग्रामको ताैल रहेको यो सिक्काको नेपालीमा लेखिएको अंक ५ मा भने धर्सो राखिएको छैन । २०२३ देखि २०२८ सम्म पाँच पैसा भने बजार मुल्यको बढोत्तरी संगै तामाबाट आलमोनियममा झरेको छ ।
साथै सिक्कामा त्रिशुलको ठाउँमा राष्ट्रिय जनावर गाई अंकित गरिएको थियो । नेपाल भित्र पाइने सबैभन्दा दुधालु गाई अछामी गाई राखिएको थियो । यस सिक्काको अग्रभागमा हिमालको टुप्पमा भगवान शिवको प्रतिक डमरु सहितको त्रिशुल राखिएको छ भने दायाँबायाँ सूर्य र चन्द्र राखिएको छ ।
तल घेरामा श्री ५ महेन्द्र वीर बिक्रम शाहदेव लेखिएको छ । बिचको तल्लो भागमा नेपाल र निस्काशन भएको साल लेखिएको छ । १.२ ग्राम ताैल, २१ मिमी ब्यास तथा १.६ मिमी मोटाइ भएको सिक्का निस्काशन भएको थियो । यस सिक्काहरुमा २०२७ र २०२८ मा बिशेष शुद्ध स्तरीय मुद्रा पनि निस्काशन भएको थियो । जुन सानफ्रान्सिस्को अमेरिकामा टकमरी भएको थियो ।
प्रतिक्रिया