सन्दर्भ विश्व शौचालय दिवसको

दैनिक जसो केही न केही दिवस मनाउने क्रममा आज भने विश्व शौचालय दिवस परेछ । शौचालयको प्रसंग आउँदा नेपालमा ४०-५० वर्ष अगाडि सम्म अधिकांशले खुला शौचालय प्रयोग गर्दथे वा घर नजिकै बारीमा खाल्टे शौचालय बनाइने गरिन्थ्यो । अचेल भने आधुनिक शौचालय प्राय शहरिया घरहरुमा हुने गर्दछ ।
राणा श्री ३ चन्द्रशमशेरले बिशाल सिंहदरवार बनाए पछि कुनै बिदेशीले सोधेछ, किन दरवारमा शौचालय नबनाउनु भएको रु चन्द्रशमशेरले सहज जवाफ दिएछ । शौच गर्न शौचालय जानै पर्दैन, हामी कहाँ शौचालय नै आइपुग्छ । हुन पनि त्यसबेला च्यामेहरु शौच बाल्टिनमा बोकेर लैजान आइपुग्थे । र ति शौचहरु बारीमा मलका रुपमा प्रयोग गरिन्थे ।
शौचालयका रुपमा खुला रुपमा प्रयोग पहिले देखि नै हुने गर्दथ्यो । पहिलो पटक भवन भित्र नै शौचालयको प्रयोग मल्लकालमा प्रताप मल्ल पछिका कुनै मल्ल राजाको समयमा शुरु भएको मानिन्छ । यसरी हेर्दा करिव ३०० वर्ष अगाडि हनुमानढोका दरवारको उत्तरतर्फ रहेको वायुचोक नजिकैको भवनमा शौचालय प्रयोगका लागि पहिलो तला र दोश्रो तलामा अलग अलग दुइ कोठा बनाइएको हुँदा शौचालयको अवधारणाको शुरुवात मल्लकालमा नै भएको थाहा हुन्छ ।
माथिल्लो तलामा शौचालय बनाइएको हुन्थ्यो भने बिचमा प्वाल पारेर तल्लो तलाको सानो कोठामा ठूलो घ्याम्पो थापिएको हुन्थ्यो । ति घ्याम्पो समय समयमा सफा गरिन्थ्यो । तर पछि शाहकालमा भने घ्याम्पोको बदलामा कोपरा राखेर शौच गर्ने प्रचलनको शुरुवात भएको थियो । यसरी हनुमानढोकामा रहेको दुइ शौचालय पुरुष तथा महिलाहरुका लागि अलग अलग बनाइएको हुँदा नेपालको इतिहासको पहिलो शौचालय यहि हनुमानढोकाको शौचालयलाई लिनुपर्दछ ।
आधुनिक शौचालय भने राणाकालिन चारबुर्जा दरवारमा बनाइएको थियो । राणा समयका कमाण्डर इन चिफ रुद्रशमशेरका लागि श्री ३ वीरशमशेरले बनाउन लगाएको यस दरवार पछि जुद्धशमशेरले वीरका ल्याइते तर्फका सन्तानलाई सी क्लासमा राखेर राज्यबाट निकालेपछि यो दरवार पनि बहादुर शमशेरको हकमा आयो । त्यसपछि बहादुर भवन भन्न थालियो । प्रजातन्त्र पछि यस दरवारमा रोयल होटल खोलियो भने हाल निर्वाचन आयोगको कार्यालय रहेको छ ।
प्रतिक्रिया