बढ्दो प्रदूषण रोक्न सबै लागौं : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा वायु प्रदूषण बढिरहेको भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिएकी छन् । ‘आर्टबिट’द्वारा ‘रङ्गीन सपना’ शीर्षकमा आजदेखि काठमाडौँस्थित नेपाल कलापरिषद्मा आयोजित नवकलाकार तथा बालबालिकाको कला प्रदर्शनी उद्घाटन गर्दै उपसभामुख रानाले बालबालिकाहरुले प्रस्तुत गरेको कला सिर्जनाले पनि प्रदूषण रोक्न आह्वान गरिरहेको बताइन् ।
यहाँ संस्कृतिलाई झल्काउने पोशाक, प्रकृति र वातावरणलाई कलामा प्रस्तुत गरिएको देख्दा खुसी लागेको उल्लेख गर्दै उनले भनिन्, ‘सेतो हिमाल र निलो आकास देख्नसक्ने अवस्था नभइरहेका बेला कलामा निलो आकाश, सेतो हिमाल देखाइएको छ । देशका पहाडहरु काला देख्न थालिएको छ, यो कलामा देखिएको सिर्जनशीलता नेपाललाई झल्काउने खालको छ, उहाँहरुले यस्तै प्रस्तुत गर्नुभएको छ ।’
नेपालमा प्रदूषण बढ्दो रहेको उल्लेख गर्दै उनले हामीमा अनुशासनको कमी भएको पनि बताइन् । उपसभामुख रानाले नयाँ पुस्तालाई प्रदूषणमुक्त वातावरण बनाइदिनुपर्ने र त्यसका लागि हामी सबै लाग्नुपर्नेमा जोड दिइन् । समारोहमा बागमती प्रदेशका पूर्वसंस्कृतिमन्त्री शैलेन्द्र बज्राचार्यले कला सिर्जनाले मुलुक संस्कृति संरक्षणको महत्वपूर्णमाध्यम भएको उल्लेख गर्दै यसको प्रवद्र्धन जरुरी रहेको औँल्याइन् ।
उनले बालबालिकाहरुको कलाकृति आकर्षक र प्रकृतिप्रेम रहेको भन्दै प्रशंसा पनि गरे । छ वर्षदेखि १४ वर्षका बालबालिका र कलाकृति अध्ययन गर्ने नवोदित युवा कलाकारहरूको जीवन्त रङ्गीन कल्पना समावेश गरी आयोजना गरिएको कला प्रदर्शनी उद्घाटनका क्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलिलै उमेरदेखि बालबालिकालाई असल अभ्यास दिनसके भविष्य सुन्दर हुने र देश प्रेमप्रतिको भावना जागृत हुने बताइन् ।
उनले बालबालिकाको कलाकृतिले सुन्दर नेपाल र प्रकृतिको बयान गरेको स्मरण गर्दै उनीहरुका लागि अवसर दिनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया