बिहीबार, असार ५, २०८२

एनपीएल : उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार

नेपालखोज २०८१ मंसिर ११ गते १७:३५

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार प्राप्त गर्ने भएका छन् ।

ओमोडा एन्ड जेइकोले एनपीएलको पहिलो संस्करणमा सहप्रायोजकको रुपमा साझेदारी गरेसंगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार प्राप्त गर्ने भएका हुन् ।

एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सो सम्बन्धी सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे ।

एसपिजि अटोमोबाइल्स, ओमोडा एन्ड जेइको अटोमोबाइल्सको नेपालको आधिकारिक बिक्रेता हो । कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले गाडी पाउने जानकारी दिए ।

अहिलेका लागि एक बर्षका लागि सम्झौता गरेपनि आगामी दिनमा पनि यसले निरन्तरता पाउने उनले बताए । एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । एनपिएल मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

प्रतिक्रिया