आइतबार, वैशाख १४, २०८२

नसर्ने रोग नियन्त्रणका लागि प्रत्येक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने

नेपालखोज २०८१ मंसिर १६ गते २०:४८

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।

मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।

मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै रोग लाग्न नदिन रोकथामका उपायहरू जनस्तरमा पु¥याउन गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका थिए ।

सोही अनुरूप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौलामा समस्या, उच्च रक्तचाप, मधुमेहलगायत रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिरहेको देखाएको छ । अस्वस्थ्य जीवनशैली, शारीरिक निष्क्रियतालगायत कारणले नसर्ने रोग बढ्दो क्रममा छ ।

प्रतिक्रिया