शुक्रबार, पुष ४, २०८२

२० औँ धनमाया तामाङ स्मृति दिवस सम्पन्न

नेपालखोज २०८१ पुष ६ गते ११:५६

सुनसरी । ठाडो एवं ढिलो भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २० औँ पुण्यस्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।

शुक्रबार इटहरी सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा साङ्गीतिक कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दै स्मृति दिवस मनाइएको हो । ​

धनमायाको पुण्यतिथिको अवसरमा शुक्रबार उनका रचना र गीतहरूलाई गाएर उनीप्रति श्रद्‌भाव अर्पण गरिएको सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले बताए ।

उनले भने, ‘उहाँको पुण्यतिथिको अवसरमा आठ वटा गीत प्रस्तुत गरिएको थियो भने उहाँको जीवनीबारे छलफल र चर्चा गरिएको गरियो ।’

नेपाली परम्परागत मौलिक संस्कार संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताउँदै महासचिव केसीले धनमाया तामाङले नेपाली मौलिक संगीतको संरक्षण तथा प्रवर्द्धनका लागि गरेको महत्त्वपूर्ण योगदानको स्मरण गरे ।

विशेष गरी नेपालको पश्चिम भागमा प्रचलित भाकालाई पूर्वमा प्रचारप्रसार गरेर पूर्व र पश्चिमको भावनालाई जोड्ने संस्कृति विकासमा निकै सहयोग पुगेको उनले बताए ।​​

धनमाया तामाङले आफ्नो जीवनलाई नेपाली मौलिक सङ्गीत संस्कृतिको प्रवर्द्धनका लागि खर्चिएकी थिइन् । जुन सम्मानित कार्य रहेको छ । भूगोलले पूर्व-पश्चिम रहे पनि पश्चिम भागमा रहेका सङ्गीत संस्कृतिलाई पूर्वी भागमा फैलाउने जोड्ने काम यस कार्यक्रमले गरेको छ ।

नेपालमै पहिलोपटक ठाडो भाका, ढिलो भाका र दाई गीत रेकर्ड गरी श्रोता दर्शकमाझ ‘धन’ २०५८ अडियो र २०६३ मा अडियो ‘भिजुअल’ प्रस्तुत गरेपछि उनी नेपाली जनमानसमा निकै लोकप्रिय बनेकी थिइन् ।​

धनमाया तामाङ नेपालको लोकगीतको उर्वर भूमि लमजुङमा २०१७ साल फागुन २० गते जन्मिएकी थिइन् ।

२० थरीभन्दा बढी लोक भाका गाउन सक्ने उनले लोप हुन लागेका ठेट लोकगीतहरू नेपालमै पहिलोपटक ७२ देखि ७४ वर्षको उमेरमा रेकर्ड गरेर ‘धन’ अडियो तथा म्युजिक भिडियो प्रस्तुत गरी लोक सङ्गीत संरक्षण र सम्वर्द्धनको क्षेत्रमा ठूलो योगदान रहेको छ ।​​

मधुरीमा फूलकुमारी महतो सम्मान २०५८ द्वारा समेत सम्मानित भएकी उनको ७५ वर्षको उमेरमा २०६१ साल पुस ५ गते काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया