शुक्रबार, पुष ४, २०८२

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

नेपालखोज २०८१ पुष ७ गते १०:४८

घोराही (दाङ) । यहाँको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेका छन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । ‘स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन’, उनले भनिन्। आफ्नै खर्र्चमा गाउँ–गाउँ पुग्ने गरेको उनले बताइन् ।

घोराही–१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गरे । ‘हामीले दुःखमात्र गरेका छाैँ, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ’, उनले भने । सुविधाका नाममा बैठक भत्ता चार सय ५०, वार्षिक पोशाक भत्ता १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताए ।

घोराही–१९ निवासी निर्मला पुनले भौगोलिक रूपमा विकट सैघामा काम गर्दा धेरै समस्या भोग्नुपरेको बताउनुभयो । ‘घण्टौँ हिँडेर घरघरमा पुग्नुपर्छ तर राज्यको तर्फबाट कुनै सहयोग पाउन सकेका छैनाैँ’, उनले भने, ‘वर्षौँदेखि गरेको कामका आधारमा सरकारले सेवा सुविधा दिन आवश्यक छ ।’

घोराही–३ निवासी जुनकुमारी रोकामगरले सञ्चारको सहज पहुँच नहुँदा काम गर्न समस्या भएको बताए । घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आएका छन् । उनले ३६ वर्षदेखि निःशुल्क काम गर्दै आएको बताए । यत्तिका वर्षसम्म काम गर्दा पनि राज्यले सहयोग नगरेको उनले बताए । गाउँगाउँमा स्वास्थ्यका सूचक सङ्कलन तथा स्वास्थ्य सचेतनाको काममा सरकारले खटाउने गरे पनि सेवा सुविधा दिन कन्जुस्याइँ गरेको उनको गुनासो छ । उनले भने, ‘हाम्रो श्रमको मूल्याङ्कन राज्यले गरेन ।’

केही दिन अघि यहाँ महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयोजित एक अभिमूखीकरण कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

प्रतिक्रिया