शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बंगलादेशको आग्रह

ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए । ‘हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ, तौहिद हुसेनले पत्रकारहरूलाई भने ।
अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो । विरोध र झडपका क्रममा छ सयभन्दा बढी मानिसको मृत्यु भयो । छयत्तर वर्षीया हसिना भारत भाग्नुभयो र नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।
यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको बताएका थिए ।
युनाइटेड किङ्गडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीहरूको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताएका थिए ।
उनले देशको अवस्थालाई नियन्त्रण गरेकोमा अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘फासिस्ट’ भन्दै बङ्गलादेशका जनतालाई उनीहरूको अधिकारबाट ‘वञ्चित’ गरिएको बताए ।
अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ । धेरैजना हसिनाको सम्भावित प्रत्यर्पणको प्रभावबारे चिन्तित छन् । रासस/एएनआई
प्रतिक्रिया