मंगलबार, वैशाख १६, २०८२

भ्रामक समाचारको पछि नलाग्न इ सेवाको अनुरोध

नेपालखोज २०८१ पुष ९ गते १५:१२

काठमाडौं । ई सेवाले भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको छ ।

मंगलबार बिज्ञप्ती जारी गर्दै उक्त कम्पनीले भनेको छ, पछिल्ला केही दिनदेखि सामाजिक सञ्जाल तथा केही समाचार पोर्टलमा ई सेवाबाट रकम चोरी भएको तथा ई सेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचार प्रकाशित भइरहेकोले त्यस्ता समाचारको पछि नलाग्न समस्त ग्राहक तथा प्रयोगकर्तालाई अनुरोध गर्दछौँ ।

केही अनलाइन समाचार पोर्टल ई सेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरले ई सेवा प्रयोगकर्तामा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा ई सेवाको गम्भीर ध्यानाकर्षण भएको छ ।

ई सेवाको १६ वर्षको इतिहासमा ई सेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत जानकारी गराउन चाहन्छौँ । सर्वप्रथम ई सेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीले ग्राहक तथा मर्चेन्टको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारी गराउन चाहन्छौँ, ई सेवाले भनेको छ ।

भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ अनुसार ई सेवाजस्ता डिजिटल वालेटको कुनै ‘क’ वर्गको वाणिज्य बैङ्कमा स्टेटमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रयोगकर्ताको रकम डिजिटल वालेटमा नभएर उक्त स्टेटमेन्ट बैङ्क खातामा जम्मा हुन्छ ।

यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ । ई सेवाको हकमा पनि यहीँ कुरा लागू हुने भएकोले हाल सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरलाई दुरुत्साहन गरिन्छ ।

आम जनतालाई यस्ता भ्रामक समाचारको विश्वास नगरी सत्य तथ्यमा विश्वास गर्न ई सेवा आग्रह गर्दछ । ई सेवामा रहेको ग्राहकको रकम पूर्ण रूपमा सुरक्षित रहेकोमा ई सेवा विश्वस्त पार्न चाहन्छ, ई सेवाले भनेको छ ।

प्रतिक्रिया