शनिबार, वैशाख १३, २०८२

पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल

नेपालखोज २०८१ पुष १४ गते १४:४७

दाङ । लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ ।

चुरे पहाडको फेदमा रहेको पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा ताल अवस्थित छ । यहाँको मनमोहक दृश्य, पूर्वाधार विकासलगायत कारणले आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा जखेरा ताल रहेको स्थानीय बताउँछन् ।

अहिले ताल अवलोकन, घुमघाम गर्ने, वनभोज खानेलगायत प्रयोजनका लागि दैनिक दुई सयदेखि तीन सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका जखेरा तालका कर्मचारी ओमभक्त चौधरीले बताए । उनका अनुसार बिदाको दिनमा छ–सात सयसम्म पर्यटकहरू आउने गर्दछन् ।

लुम्बिनी प्रदेशको राजधानीबाट नजिक पर्ने सो ताल अहिले पर्यटकको आकर्षक केन्द्र बन्दै गएको हो । प्रदेश राजधानीमा आएका अन्य जिल्लाका सरकारी, सङ्घसंस्थाका प्रतिनिधिहरू समय अनुकूल परेर जखेरा अवलोकनका लागि यहाँ आउने गरेका चौधरीले बताए । बाह्र बिघा क्षेत्रफल रहेकामा अहिले साढे सात बिघा ताल फैलिएको छ ।

तालको वरिपरि बाँकी ठाउँमा वनजङ्गल छ । तालको गहिराइ छदेखि सात फिटसम्म रहेको जनाउँदै कर्मचारी चौधरीले उत्तरतर्फ गणेशको र पूर्वमा सिद्देश्वर महादेवको मन्दिर अवस्थित रहेकाले धार्मिक पर्यटकको आकमन पनि हुने गरेको बताए । यहाँ आउने पर्यटक ढुङ्गा चढेर मन्दिर दर्शन गर्दछन् ।

तालको मुख्य आकर्षणमा वनभोजस्थल, फूल बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हुन् । ‘तालमा ढुङ्गा चढ्नका लागि पर्यटक निकै उत्साहित हुन्छन् । सात वटामात्र डुङ्गा भएकाले सिजनमा पालो कुनुपर्दछ । केही पर्यटक ढुङ्गा चढ्न नपाएर फर्केने गर्छन्’, कर्मचारी चौधरीले भने । एक जनाले पूरै तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय शुल्क लिने गरिएको जनाउँदै उहाँले यहाँ सात जनाले रोजगारी पाएका उल्लेख गरे ।

जखेरा तालको अवलोकन गर्न गत बुधबार तुलसीपुर उपमहानगरपालिका– ६ बाट आएकी ४८ वर्षीया राधा रजौरेले पहिलो पटक तालको अवलोकन गरेको भन्दै यहाँको सुन्दर र मनमोहक दृश्यले आफूलाई आकर्षित गराएको बताए । उनले भने, ‘यति सुन्दर ताल रहेछ यसले फेवा तालको झल्को दिन्छ । यसलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकार भएका सबै निकायबीच समन्वय गरी लाग्नुपर्छ ।’

ताललाई अझै सफा, स्वच्छ राखी थप भौतिक पूर्वाधार निर्माण गर्नसके यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर वृद्धि हुने रजौरेले बताए । यस क्षेत्रको प्रचारप्रसारमा स्थानीय निकायले सहयोग गर्नपर्ने भन्दै पूर्वाधार विकास गरी बाह्य पर्यटक आगम बढाउने योजनाअनुसार काम गर्नुपर्ने सुझाव दिए ।

अध्यक्ष उपाध्यायका अनुसार गत वर्ष सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय दाङले रु चार करोड रकम उपलब्ध गराएको र उक्त रकमबाट तालको संरक्षण, मर्मत सम्भार, सुरक्षाका लागि तालको छेउछेउमा जाली, पक्की नालालगायत पूर्वाधार विकास निर्माण गरिएको हो ।

यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । स्थानीय थारू भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन भएर जम्मा हुन्छ, त्यस ठाउँलाई ‘जखेरा’ भनिन्छ । विसं २०३० मा साविकको सोनपुर गाउँ विकास समिति हालको लमही नगरपालिका–३ निवासी स्व दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्धिजीवी मिलेर खेर गइराहेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले चुरे पहाडको फेदीमा कृत्रिम खाडल खनी मानवनिर्मित जलभण्डारणका रूपमा राखिएको थियो । सोही ताल अहिले जखेरा तालका नाममा परिचित भएको हो ।

दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किमी दूरी यात्रा गरेपछि ताल भएको स्थानमा पुगिन्छ । पूर्वपश्चिम राजर्मागबाट नजिक रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया