आइतबार, वैशाख १४, २०८२

मधेश प्रदेशको कृषि क्षेत्रमा बैंकहरुको झन्डै ६५ अर्ब रुपैयाँ कर्जा

राष्ट्र बैंकको प्रादेशिक रिर्पोट,

नेपालखोज २०८१ पुष २८ गते १४:१९

काठमाडौं । मधेश प्रदेशको कृषि क्षेत्रमा बैंक तथा फाईनान्स कम्पनीहरुले झण्डै ६५ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्वन्धी मधेश प्रदेश वार्षिक प्रतिवेदन २०८०/०८१ अनुसार बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ६४ अर्ब ९१ करोड ७९ लाख पुगेको हो ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ५३ अर्ब ९५ करोड रहेको थियो । मधेश प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १३ दशमलव ५६ प्रतिशत रहेको छ । मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सर्लाही जिल्लामा प्रवाह भएको कर्जाको हिस्सा सबैभन्दा बढी अर्थात १६ दशमलव २४ प्रतिशत र सप्तरी जिल्लामा प्रवाह भएको कर्जाको हिस्सा सबैभन्दा कम अर्थात सात दशमलव ५८ प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा १५ अर्ब ९० करोड ५३ लाख सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २२ अर्ब ३० करोड रहेको थियो । प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी दुई अर्ब ७७ करोड अर्थात् १७ दशमलव ४७ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम ८५ करोड अर्थात् पाँच दशमलव ३५ प्रतिशत सप्तरी जिल्लामा रहेको छ ।

प्रतिक्रिया