शुक्रबार, पुष ११, २०८२

भूकम्प सुरक्षा दिवस: पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री ओली

नेपालखोज २०८१ माघ २ गते १६:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिएका छन् ।

सत्ताइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज कीर्तिपुरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुन: निर्माण भएका एकीकृत बस्तीहरुमा तुलनात्मक रुपमा सुरक्षाको स्थिति रहेको बताए । उनले एकीकृत बस्तीमा रोजगारी र आय आर्जनको वातवरण भने कम हुने स्थिति नहुने गरी आगामी दिनमा पुन: विचार गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भूकम्प प्राकृतिक कारणले आउने हुँदा यसलाई टार्न नसकिने भएकाले भूकम्प प्रतिरोधी घर र संरचना बनाउन सकिए क्षति कम हुने उल्लेख गर्दै माघ महिनालाई भूकम्पीय सुरक्षाको स्मरणका साथै नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलनको सङ्घर्षमा होमिएका सहिदको स्मरणको महिनाका रुपमा पनि लिइएको बताए ।

‘बहत्तर सालको भूकम्पपछि हामीले पुन: निर्माणमा राम्रा उपलब्धि र हासिल गरेका छौँ । त्यसका सिकाइलाई लिएर आगामी दिनमा अझ व्यवस्थित बस्ती विकास पूर्व तयारीका काममा लाग्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘विज्ञहरुसँग छलफल गरेर हामीले आगामी दिनमा भूकम्प र विपद्बाट हुन सक्ने क्षतिको पूर्वतयारीमा गम्भीर भएर लाग्नुपर्छ । सरकारले यसको अगुवाइ गर्नेछ ।’

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशनमानसिंह, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, प्रतिनिधिसभा सदस्य राजेन्द्र केसीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया