बङ्गलादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा
२९ कार्तिक, काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौन् को चन्द्रागिरि अवलोकन भ्रमण गरेका छन् ।
भ्रमण दलमा रहेका बङ्गलादेशका सांसद, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्गलादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिलगायत २७ जनाले अवलोकन भ्रमण गरेका हुन्।
उनीहरुलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए ।
भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए। अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी दिए ।
भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रागिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्गलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।
चन्द्रागिरिको अवलोकन भ्रमणका लागि बङ्गलादेशका राष्ट्रपति हमिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम भने अन्तिम समयमा विशेष कारणले रद्द भएको थियो ।
प्रतिक्रिया