छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका-१ स्थित सडकमा सु.प.प्र.०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बस्ने उर्मिला बिष्टको छोरा ५ वर्षीय जेनिस बिष्टको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित सडकमा काठमाडौंबाट बेसिशहरतर्फ जाँदै गरेको ग.१ ख ४४४४ नम्बरको माईक्रोबसको ठक्करबाट सोही ठाउँ बस्ने ६५ वर्षीया सुकमाया गुरूङको सोमबार साँझ मृत्ययु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागलुङको बडिगाड गाउँपालिका-९ दर्लिङस्थित सडकमा भीमगिठ्ठेदेखि खहरेतर्फ जाँदै गरेको लु.३ च ५५६९ नम्बरको पिकअप जिप सडकबाट करिब ६० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जिपमा सवार निसिखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ नाथुरे बस्ने ३५ वर्षीया जुना कंडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरस्थित सडकमा धकधईबाट भैरहवातर्फ आउँदै गरेको लु.४९ प ६४१६ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ जावा बस्ने ३२ वर्षीय सुशान्त कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
सल्यानको छत्रेश्वरी गाउँपालिका-१ फारूलेचौरस्थित सडकमा रोल्पा झ्यामबाट दमाचौरतर्फ आउँदै गरेको रा.१ क ५३० नम्बरको मिनिट्रक सोमबार राति दुर्घटना हुँदा चालक रोल्पा गंगादेब गाउँपालिका–३ बस्ने ३५ वर्षीय हरी चन्दको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।
ललितपुरको ललितपुर महानगरपालिका-४ बिष्णुदेवी मन्दिर नजिकै सडकमा रा.१ ख ९५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-२१ ठुलो खोकना बस्ने ४९ वर्षीय भीम रत्न महर्जनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया