शुक्रबार, पुष ४, २०८२

इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन

नेपालखोज २०८१ फागुन १४ गते ६:४३

हेटौँडा । हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ । तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन सुरु गरेका छन् ।

वैदेशिक रोजगारीका क्रममा सात वर्ष साउदी अरबमा काम गर्नुभएका मकवानपुरगढी गाउँपालिका–३ बाबियोडाँडाका प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा भिडियो हेरेकै भरमा केराको खम्बाबाट कागज उत्पादन गरिरहेका छन् ।

साउदी अरबमा छँदा गाडी चलाएका उनले नेपाल फर्केपछि केही समय काठमाडौँमा ट्याक्सी चलाए । ट्याक्सी चलाएर भनेजस्तो कमाई नभएपछि उहाँ गाउँ फर्कए ।

गाउँमा पशु प्राविधिकसम्बन्धी तालिम लिएर बाख्रापालनसमेत गरेका तिमल्सिनाले आफूलाई मोबाइलमा केराको खम्माबाट कागज बनाइरहेको भिडियोले हौस्याएको बताउँछन् । मोबाइलमा भिडियो हेरेकै भरमा उनले खेर गइरहेको कच्चा पदार्थबाट केही गरौँ भन्ने सोचका साथ हाते कागज उद्योग स्थापना गरेको उल्लेख गरे ।

तिमल्सिनाले हाते रु आठ लाख लगानी गरेका छन् । उनले यस प्रयासले केराखेती गरिरहेको किसान र बेरोजगार युवालाई प्रेरणा मिलिरहेको छ । मकवानपुरमा पहिलोपटक सुरु भएको यस उद्योगले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ ।

उनले उद्योग सुरु गर्दा पहिलो महिनामा जम्मा रु ५० हजारको कागज बिक्री भएको थियो । उक्त कागज धूपका लागि हेटौँडा बजारमा बिक्री गरिएको उनले बताए । विशेष गरेर लोक्ताबाट बनाइने नेपाली हाते कागज केराको खम्बाबाट परीक्षण उत्पादन गर्दा सफल भएको र उत्पादनलाई निरन्तरता दिइरहेको उनले बताए ।

लोक्ताबाट नेपाली हाते कागज उत्पादन हुन्छ भन्ने सुनेको र आफ्नो गाउँमा खेर गइरहेकाले बनाउने उत्सुकताले उत्पादनको थालनी गरेको तिमल्सिनाले बताए । उनले भने, ‘हाम्रो गाउँ केराको पकेट क्षेत्र हो, यहाँ केराको खम्बा खेर गइरहेको थियो, केराको रेसाबाट कागज बन्छ जस्तो लाग्यो, अनि इन्टरनेटको माध्यमबाट खोजी गर्दै कागज उत्पादन गर्न सुरु गरेको हुँ ।’

काठमाडौँबाट रु एक लाख ५० हजारमा फाइबर निकाल्ने मेसिन ल्याएर कागज उत्पादन सुरु गर्नुभएका उनलाई अहिले भ्याइनभ्याई छ । मकवानपुरगढी गाउँपालिकाले पालिकाका लागि आवश्यक नेपाली कागज उहाँसँगै खरिद गर्ने भएपछि पहिलो मागका रूपमा पाँच हजार प्रतिकागज उत्पादनमा उनी लागेका छन् ।

प्रतिक्रिया