सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत

धरान (सुनसरी) । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् ।
धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताउँछन् ।
उनले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहरेका छन् । ‘पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ, अहिले फूलका बिरुवा उत्पादन गरेर बिक्री गरी मासिक झण्डै रु एक लाख आम्दानी भइरहेको छ’, उनले भने ।
फूल रोप्ने सौखलाई व्यवसायमा बदल्नेमा धरान–११ का शिवमाया राई पनि छिन् । छ वर्षअघि मनी प्लान्टका दुईवटा बिरुवा घर ल्याएर रोप्नुभएकी उहाँले कालान्तरमा मनपरेका फूल सङ्कलन सुरु गरे । अहिले उनले आफैँ नर्सरी सञ्चालन गरिरहेकी छन् । जहाँबाट विभिन्न प्रजातिका फूल र बिरुवा छन् । यसले सौखमात्र पूरा भएको छैन, राम्रो आम्दानी पनि भइरहेको छ ।
उनले सुरुआती आम्दानी फूल र बिरुवामै लगानी गरेकी थिइन् । अहिले यसैले व्यवसायी बनाएकामा उनी निकै खुसी छिन् ।
धरानका लाहुरेका बस्तीमा घरको गेटदेखि छतसम्म फूलैफूल देख्न सकिन्छ । कतिपयले घरको आँगनलाई नै बगैँचा बनाएका छन् । फूल र बिरुवाप्रतिको लगावका कारण घर निर्माण गर्दा अलिकति भए पनि खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलन पनि बढेको छ ।
धरान–८ मा पवित्र नर्सरी सञ्चालन गर्दै आउनुभएका प्रमिला राई १७ वर्षदेखि नर्सरीबाट भएको आम्दानीले नै परिवार धानिरहेको बताउँछन् । नर्सरीमा उहाँले केही व्यक्तिलाई जागिर पनि दिएका छन् ।
धरान–२० का युमेनहाङ राईले पनि पहिले फूल सङ्कलन गर्ने सौख नै अहिले व्यवसाय बनेको बताउनुहुन्छ । अहिले अहिले एभरेष्ट नर्सरी सञ्चालन गर्दै आएका छन् ।








प्रतिक्रिया