वीरगञ्जमा अर्थोकोन सम्मेलन सुरु
वीरगञ्ज (पर्सा) । नेपाल अर्थाेपेडिक सङ्घको आयोजनामा वीरगञ्जमा पाँच सयभन्दा धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय चिकित्सकहरुको उपस्थितिमा ‘अर्थाेकोन २०२५’ सम्मेलन वीरगञ्जमा सुरु भएको छ ।
अर्थाेपेडिक चिकित्सा क्षेत्रमा भएका नविनतम उपचार तथा प्रविधि र अनुभव साटासाट गर्ने उद्देश्यले ‘अर्थाेकन २०२५’ सम्मेलन आयोजना गरिएको हो । अर्थाेकन २०२५ सम्मेलनका सदस्य सचिव डा सरोज सिंहले सम्मेलनमा अर्थाेपेडिकसँग सम्बन्धित दुई सय १० वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
‘वरिष्ठ र अनुभवी हाडजोर्नी चिकित्सकले आफूले गरेका शल्यक्रियाको अनुभव नयाँ पुस्ताका चिकित्सकलाई साट्ने अवसर प्राप्त गर्नुहुनेछ’, उनले भने, ‘अर्थाेपेडिक उपचार क्षेत्रमा भएका नवीनत उपचार विधि र नयाँ प्रविधि र ज्ञानको पनि अनुभव साटासाटले चिकित्सकलाई अझै दक्ष बनाउन सक्ने अपेक्षा राखेका छौँ ।’
आयोजकका अनुसार सम्मेलनमा चार सय जना अर्थाेपेडिक सर्जन र एक सय जना विभिन्न अस्पतालमा अर्थाेपेडिक अध्ययन गर्दै आइरहेका रेजिडेन्ट चिकित्सकहरुको सहभागी हुनेछन् । सम्मेलन फागुन १५ देखि १७ गतेसम्म वीरगञ्जको क्लार्क रिसोर्टमा हुँदैछ ।
सम्मेलनमा १८ वटा विदेशी चिकित्सकले अर्थाेपेडिकसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सअवसरमा जोर्नी प्रत्यारोपण, मेरुदण्ड, बच्चाहरुको हाडहोर्नीको उपचारलगायतको गहन छलफल हुनेछ । सङ्घले अर्थाेकोन सम्मेलन एउटा वर्ष काठमाडौँ उपत्यकामा र अर्काे वर्ष उपत्यकाबाहिर आयोजना गर्दै आइरहेको छ । वीरगञ्जमा अर्थाेपेडिकसँग सम्बन्धित ५० भन्दा बढी चिकित्सक छन् । रासस








प्रतिक्रिया