बुधबार, पुष २, २०८२

‘सरकार पुँजीगत खर्च बढाउन लागिपरेको छ’

नेपालखोज २०८१ फागुन २० गते २२:१४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले अहिलेको सरकार पुँजीगत खर्च बढाउन लागिपरेको बताएका छन् । पुँजीगत खर्च बढाउनकै लागि सरकारले अध्यादेश ल्याएको उनले प्रष्ट पारे ।

नेपाल दूरसञ्चार प्राविधिकरणको २७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले पुँजीगत खर्च हुन नसक्नु देशको मूल समस्या भएको बताए ।

यस्तो हुनुमा विभिन्न कानुनी बाधा रहेको बताउँदै उहाँले ती बाधा हटाई तीव्र विकासतर्फ सरकारको ध्यानकेन्द्रित रहेको जानकारी दिए । मन्त्री गुरूङले सुशासन कायम गर्ने, सार्वजनिक सेवा सवलीकरण गर्ने, उद्योग व्यवसायमा गतिशिलता ल्याउनेलगायत महत्त्वपूर्ण उद्देश्य लिएर अहिलेको सरकारले अध्यादेश ल्याएको बताए ।

मन्त्री गुरुङले नागरिकको हितमा आएका अध्यादेश भएकाले सबैले समर्थन गर्नु उपयुक्त हुने बताए । उनले आफ्नो मन्त्रालयअन्तर्गतका विभाग र निकायले जतिसक्दो धेरै राजस्व सङ्कलनमा जोड दिनसमेत आग्रह गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणको विगतका समस्या समाधान गरेर टेलिकम क्षेत्रको प्रभावकारी नियामक संस्थाको रूपमा आफूलाई स्थापित गर्नसमेत सुझाव दिए ।

उनले यो वर्ष नै दूरसञ्चार ऐन संशोधन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । साथै पुराना ऐनहरू संशोधन गर्ने र नयाँ ऐन ल्याउन मन्त्रालय सक्रिय रहेको मन्त्री गुरूङले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले नेपाल दूरसञ्चार प्राधिकरणले उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने धारणा राखे ।

प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले प्राधिकरणले भोग्नुपरेका समस्या प्रष्ट पार्दै विगतमा प्राधिकरणको समय सापेक्षका कार्य योजना तय गर्ने बताए । रासस

प्रतिक्रिया