परशुराम साहित्य महोत्सव बिहीबारदेखि

काठमाडौं । परशुराम साहित्य महोत्सव दोस्रो संस्करण बिहीबारदेखि हुने भएको छ । आयोजक परशुराम नगरपालिका डडेल्धुराका प्रमुख भरतबडायर जोशीले दुई दिनसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए ।
उनले महोत्सवमा गृहमन्त्री रमेश लेखकदेखि प्रतिष्ठित र नवउदयीमान साहित्यकर्मीहरूको उपस्थिति रहने बताए । जोशीका अनुसार त्यस अवधिमा विविध विषयका दश वटा सत्र आयोजना गरिने छन् ।
‘सुदूरका सुइना’ सत्रमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेल, पूर्वप्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, वरिष्ठ शिक्षाविद् प्रा डा हेमराज पन्त, ‘खेल संकारः अर्थतन्त्र, पर्यटन र कूटनीति’ मा ओलम्पियन दीपक विष्ट, भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिश भट्ट, राष्ट्रिय खेलाडी दीपेन्द्रसिंह ऐरी, ‘खोजिन बाँकी इतिहास, लेखिन बाँकी गीत’ मा साहित्यकार राजेन्द्र शाह ‘बिपी’, गीतकार हेमन्त विवश सहभागी हुनेछन् ।
यस्तै, ‘इजाकी कुरणी’ मा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, शिक्षिका गङ्गा जोशी, समाजसेवी कल्पना भट्ट, ‘सुसंस्कृत राजनीतिः देखाइ र भोगाइ’ सत्रमा नेत्री रामकुमारी झाक्री, नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपाने, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशीला मिश्र, ‘डिजिटल युगका युवाः अवसर र चुनौती’ मा दीपेश विष्ट, गणेशप्रसाद जोशी र डा मन्दीप पाठक, ‘संस्कार शिक्षा’ सत्रमा डा स्वामी केशवानन्द, ‘गजल गङ्गा’ मा गायक तिलकसिंह पेला र गजलकार कमल सङ्घर्ष तथा ‘कविता कहानी’ सत्रमा डा नवराज लम्सालको विशेष प्रस्तुति रहने नगरप्रमुख जोशीले जानकारी दिए ।
यसका साथै काव्य सन्ध्या, देउडाः मौलिक पहिचान सत्रका साथै स्थानीय प्रतिभाका विविध प्रस्तुति र विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना हुने नगरपालिकाले जनाएको छ । ‘संस्कार, सङ्कल्प र संस्कृतिको उत्सव’ नारासहित नगरपालिकाले गत वर्षदेखि साहित्य महोत्सव सुरु गरेको हो । रासस
प्रतिक्रिया