बुधबार, पुष २, २०८२

महिलालाई आत्मनिर्भर बनाउन जीविकोपार्जनसम्बन्धी तालिम

नेपालखोज २०८१ फागुन २४ गते १५:०४

भोजपुर । टेम्केमैयुङ गाउँपलिकाले महिलालाई उद्यमशीलतासँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा जोड दिएको छ । गृहणी भएर घरायसी काममा मात्र समय बिताउँदै आएका महिलालाई सीप प्रदान गरेर उद्यममा जोडिन उत्प्रेरित गरेको हो ।

गाउँपालिकाले अचार बनाउने, ढाका कपडा बुनाइ, सिलाइ कटाइ, महिला लक्षित बेमौसमी तरकारीखेतीलगायत महिला लक्षित सीपमूलक कार्यक्रम सञ्चालन गरेर आवश्यक सीप प्रदान गरिरहेको छ ।

महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । महिलालाई आवश्यकताका आधारमा सीप प्रदान गरिएको उनको भनाइ छ । सीप लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उपाध्यक्ष राईले बताए ।

गाउँघरमा पाउने कच्चा पदार्थको सदुपयोग गर्दै महिलालाई व्यावसायिकसँगै उद्यमशील बनाउन २७ महिलालाई अचार बनाउने सीप प्रदान गरिएको उहाँले जानकारी दिए ।

बाहिरबाट विषेशज्ञ प्रशिक्षक ल्याएर गाउँपालिकाभित्रका नौवटै वडाका महिलालाई अचार बनाउने तालिम दिइएको हो । आफ्नै ठाउँमा दक्ष प्रशिक्षकबाट सीप लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ-४ नागिकी सम्झना राईले बताए । सात दिनसम्म सहभागी भएर लिएको सीपले व्यावसायिक रुपमा अचार बनाएर आत्मनिर्भर बन्न सहयोग पुगेको उनको भनाइ छ । सीप लिएसँगै भावी दिनमा समूह निर्माण गरेर व्यावसायिक अचार उद्योग सञ्चालन गर्ने सोच बनाएको उनले बताए ।

सातदिने अचार बनाउने तालिम लिएपछि व्यावसायिक बन्न साहस बढेको स्थानीय क्षमादेवी राईले बताए । तालिम लिएपछि गाउँघरमा सहजै रुपमा पाउने कच्चा पदार्थबाट कसरी आयआर्जन गर्न सकिने रहेछ भन्ने ज्ञान पाएको उनको भनाइ छ ।

सीप लिन इच्छुक महिलालाई गाउँघरमा पाउने कच्चा पदार्थ अमला, अकबरे खुर्सानी, तामा, लप्सीलगायतका ११ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको प्रशिक्षक सकुन्तला प्याकुरेलले बताए । तालिमका सहभागी महिलाले गाउँघरमा नै पाउने कच्चापदार्थबाट व्यावसायिक रुपमा अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्नसक्ने उनको भनाइ छ ।

झापामा अचारको उद्योग सञ्चालन गरिरहेकाले यहाँ उद्योग सञ्चालन भएका खण्डमा त्यसको बजारीकरणमा आफूले सहयोग गर्ने उनले बताए ।

अचार राम्रो ढङ्गले भण्डारण तथा प्याकेजिङ र ब्रान्डिङ गर्न सकेका खण्डमा देश तथा विदेशसम्म निर्यात गर्न सकिने उनको भनाइ छ । बजारमा अचारको माग राम्रो रहेको उनले बताए ।

प्रतिक्रिया