बुधबार, पुष २, २०८२

फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई महानगरले लगायो एक लाख जरिवाना

नेपालखोज २०८१ फागुन २५ गते २१:३८

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख जरिवाना गरेको छ । आज आइतबार राप्रपाले आयोजना गरेको पूर्वराजाको स्वागत कार्यक्रमका क्रममा सडकपेटीमा रहेका रेलिङ तथा आइल्यान्डमा रहेका बिरुवामा क्षति पुगेको तथा सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो ।

महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा भनिएकाे छ ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङमा भौतिक क्षति र जथाभावी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,०००।०० (अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’

उक्त पत्रको बोधार्थ निर्वाचन आयोग नेपाल, कान्तिपथ, काठमाडौं र प्रशासन विभाग, काठमाडौं महानगरपालिकालाई पनि दिइएको छ । 

प्रतिक्रिया