बुधबार, पुष २, २०८२

हलेसी तुवाचुङ नगरपालिकाद्वारा ‘प्रतीक चिह्न’ सार्वजनिक

नेपालखोज २०८१ फागुन २६ गते ८:०१

टाङ । हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवं पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।

नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले लोगो सार्वजनिक गर्नुभएको नगर प्रमुख विमला राईले जानकारी दिए । पूर्वअर्थमन्त्री डा महतसँगै सांसद सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईलगायतले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गरेका हुन् ।

नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा सङ्कलन भएका सात लोगोमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका सन्तोष दाहालले बनाउनुभएको लोगो उत्कृष्टमा छनोट भएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । नगरपालिकाले औपचारिकरुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउनेछन् ।

प्रतिक्रिया