यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

काठमाडौं । रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार डा गार्गी शर्मालाई प्रदान गरेको छ ।
सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त पुरस्कार अर्पण गरे ।
पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ । नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले निर्वाह गरेकाे योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवामा पाण्डेले उल्लेखनीय योगदान गरेकी छन् । उनको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट भानु माविका विद्यार्थीलाई पनि पुरस्कृत गरियो ।
सो अवसरमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले बहुआयामिक व्यक्तित्व सरदार रुद्रराज पाण्डे नेपाली साहित्यको मुर्धन्य व्यक्तित्व भएको उल्लेख गरे । रुद्रराज पाण्डेको नेपाली साहित्य, इतिहास, शिक्षा, प्रशासन एवं अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गरे ।
पुरस्कृत व्यक्तित्व गार्गी शर्माले स्वर्गीय पाण्डेको शिक्षा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गर्दै अहिलेका पुस्ताका लागि प्रेरणादायी व्यक्तित्व भएको बताइन् ।
समितिका संरक्षक ई कृष्णराज पाण्डेले स्व रुद्रराज पाण्डेको व्यक्तित्वबारे प्रकाश पारेका थिए । समितिका महासचिव डा नील पाण्डेले साहित्य र शिक्षाको विकास तथा प्रवद्र्धनमा रुद्रराज पाण्डेको योगदान महत्वपूर्ण भएको बताए । रासस
प्रतिक्रिया