चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को नेपाल प्रिमियर गरिएको छ ।
ललितपुरको क्युएफएक्स लाविम मलमा सोमबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको राम्रो उपस्थिति थियो ।
चलचित्रमा कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता देखाइएको छ । चलचित्र यसअघि हङ्कङ, बेलायत र दक्षिण कोरियामा प्रिमियर भइसकेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।
उनले भने, ‘विदेशमा भन्दा नेपालमा प्रतिक्रिया राम्रो आएको छ, खेलाडीको जीवनीमा चलचित्र बनाउनु चुनौतीपूर्ण विषय थियो’, उनले भने, ‘चलचित्र एउटा फुटबल खेलाडी र कप्तान सुब्बाका लागि डिजिटल दस्तावेज पनि हुनेछ ।’
चलचित्र हेर्न पुग्नुभएका अभिनेता दयाहाङ राईले अञ्जिला सम्झनलायक चलचित्र बनेको बनाए । कप्तान सुब्बाका धर्मपिता तथा चलचित्र निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा विश्वास व्यक्त गरे ।
कप्तान सुब्बालाई काठमाडौँ ल्याएर विभागीय टिम सशस्त्र प्रहरी बलमा भर्ना गराउनुका साथै होस्टेल राखेर पढाएका निर्माता श्रेष्ठले सुब्बाको सङ्घर्ष कनाथक चलचित्रको पटकथाभन्दा कम नभएको बताए
निर्देशक चाम्सले कप्तान सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको बताए । चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन गर्नुभएको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गर्नुभएको छ । चलचित्र यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । रासस
प्रतिक्रिया