बिहीबार, पुष ३, २०८२

जङ्गबहादुरको मृत्युको १४८ वर्ष

सुनिल उलक २०८१ फागुन २८ गते १३:१२

आज फागुन शुक्ल द्वादशी अर्थात् गोविन्द द्वादशी १४८ वर्ष अगाडि तिथिले आजकै दिन जङ्गबहादुर राणाको पत्थरघट्टामा निधन भएको थियो । वि.सं. १९३३ फागुन १६ गते तदनुसार इ.सं. १८७७ फेब्रवरी २५ तारिख आइतबारका दिन गोविन्द द्वादशी परेको हुँदा जङ्गबहादुर बिहानै उठेर नुहाई धुवाइ गरेर ब्राह्मणलाई दान दक्षिणा समेत गरिसकेका थिए । केही दिन देखि शिकारका लागि बसिरहेको क्याम्प परिवर्तन गरी नयाँ क्याम्पमा जानका लागि सिपाहीहरूले बिगुल बजाएर सूचित गरिसकेका थिए ।

अचानक जङ्गबहादुरलाई पखाला चल्यो । शरीरमा कमजोरी महसुस भए पछि तातो घाम तिर बस्दै जेठी महारानीलाई शरीरमा चिसो महसुस भएको जानकारी दिए । घाममा केही बेर बस्न साथ निकै गर्मी भएको भन्दै फेरि टेन्ट भित्र गए । त्यहाँ बसेको एक छिनमा चिसो महसुस भएपछि फेरी बाहिर निस्किए । यसरी महाराजको शरीर ठिक नभएको लागेर महारानीले भतिजा अमर जङ्गलाई भने । समरजङ्ग टेन्ट भित्र जाँदा जङ्ग साष्टाङ्ग मुद्रामा रहेका थिए । तर उनले छोरा अमरलाई चिनेनन् र भित्र रहेका रानीलाई सोधे, को आएको ? रानीले भतिजा अमर भएको जानकारी गराए पछि जङ्गले भने मैले आँखा देख्न नै छोडेछु । सबै धमिलो देख्न थालेको छु ।

तत्काले जङ्गका बैद्य कृष्ण गोविन्दलाई बोलाइयो । बैद्यले नाडी छामेर महाराजाको अवस्था ठिक नभएको जानकारी महारानीलाई गराए । यो सुन्ने बित्तिकै महारानी रून थालिन । तर ठूली महारानीले भने तत्कालै चामल, अदुवा, सिधेनुन, बेसार, जिरा, पिप्ला मिलाएर पानीमा उमालेर बनाइएको अष्टमण्डप एक चम्चा खुवाउन लागे । तर जङ्गको दाँत खोल्नै सकेनन् । मुख बन्द नै भयो । तुरन्ते म्यानामा राखेर जङ्गलाई बागमती किनार पत्थरघट्टा लगियो । उता काठमाडौमा रणोद्वीपलाई पनि खबर पठाइयो । बागमती किनारमा म्याना पुग्न नपाउँदै जङ्गले रगत वमन गरे । तत्काले जङ्गलाई बागमती नदीको किनारमा सुताइयो । त्यही मध्यरातमा जङ्गले अन्तिम श्वास फेरे ।

जङ्गबहादुर अचानक छोरा बबरजङ्गको निधनले नै शोक ग्रस्त भएपछि पुत्रवियोगको तेह्रौ दिनको संस्कार समाप्त गरि करिव अढाइ महिना अगाडि वि.सं. १९३३ मंसिर २५ गते शिकारका लागि काठमाडौबाट निस्किएका थिए । बाटोमा थानकोट, मार्खु, सुपारीटार, हेटौडा, जमुनिया, पत्थरघट्टा, जनकपुर, बहुरिया, बालम हुँदै महोलिया पुगेका थिए । बहिरीमा राखिएको क्याम्प नै अन्तिम क्याम्प हुन पुग्यो ।

बहिरीमा दुइ दिन अगाडि मात्र क्याम्प खडा गरेका थिए । बहिरी क्याम्पमा पुगेपछि त्यहाँ उनले आफ्नो मनपर्ने र विश्वासिलो हात्ती जङ्गप्रसादको मृत्युको समाचार पाएका थिए । जसले गर्दा जङूग निकै दुखित भएका थिए । एकदिन अगाडि उनले अन्तिम शिकारका रुपमा एक बाघ मारेका थिए । तर मयुरलाई ताकेको गोली भने लागेन । त्यतिबेला उनले आँखा धमिलो भएको जानकारी समेत गराएका थिए ।

जङ्गको शवलाई चार दिन सम्म तेलमा डुबाएर राखिएको थियो । मृत्युको चौथो दिन जङ्गको दाहसस्कार भयो । फागुन १९ गते बुधवार उनको अन्त्येष्टि गरिँदा जङ्गको शवका साथ उनका तीनजना रानीहरु पुतली महारानी, मैयाँ महारानी र मिश्री महारानी सती गएका थिए । उनको मृत्युसँगै तीन रानीले पनि सती गएर प्राण त्याग गरेका थिए ।

उनको मृत्यु पछि निकै अफवाहहरू फैलिएको थियो । कतै बाघको आक्रमणको चोटका कारण निधन भएको भनिएको थियो । कुनै कुनै ईतिहासकारको भनाईमा उनको मृत्यु २१ वर्षे तामाङ केटोको खुकुरी प्रहारबाट भएको थियो । भनिन्छ केटोले आफ्नो श्रीमती जङ्गबहादुरको साथ भेटेका थिए । भोलिपल्ट ति केटोले जङ्गलाई जार काट्न पाउने कि नपाउने भनि सोधे । जङ्गले जार काट्न पाउने भने पछि जङ्लाई खुकुरीले हान्दै भने मेरो जार सरकार होइसिन्छ । तसर्थ हजुरको आदेशमा जारलाई काटे भन्दै आवेशमा जङ्गलाई खुकुरीले धेरैपटक हाने । यहि खुकुरीको चोटले नै चार दिन पछि जङ्गबहादुरको मृत्यु भएको थियो । त्यो केटोको तत्काल हत्या गरियो भने उनका श्रीमतीलाई जङ्गबहादुरसंगै सती जान लगाईएको थियो ।

जङ्गकै छोरा पद्मजङ्ले लेखेको पुस्तकका अनुसार वर्णन गरिए अनुसार पनि उनको अन्तिम समय Lucked Jaws भएको लेखेका छन् । दाँत जोडिएर बङ्गारा खोल्न नसक्नुलाई चिकित्सा विज्ञानमा Jaw Luck भनिन्छ । Jaw Luck हुनुको प्रमुख कारण टिटानसका कारण हुने गर्दछ । जुन खुकुरीका चोटका कारण टिटानस भएर हुन सक्ने बलियो सम्भावना छ । टिटानस भएमा देखिने दुइ लक्षण मुख खोल्न नसकिने र कहिले अत्यधिक गर्मी हुने र कहिले अत्यधिक जाडो हुने गर्दछ ।

जुन पद्मजङ्गले स्पष्ट उल्लेख गरेको हामी पाउँछौ । टिटानस हुनुको अन्य कारण खासै त्यस समयको अन्य विवरणमा पाइदैन । तर तामाङ केटोले आफ्नो खिया लागेको खुकुरीले नै जङ्लाई हानेर घाइते बनाएका थिए भने टिटानस लाग्ने सम्भावना अत्यधिक हुन्छ । टिटानसको लक्षण तत्कालै देखिदैन । कम्तिमा २४ घण्टा पछि मात्र देखिन्छ । साथै उनको शव कसैलाई पनि हेर्न दिइएको थिएन । जसले गर्दा पनि शरिर भरि चोट भएका कारण पनि अन्यलाई घाइते शरिर हेर्न नदिइएको हुन सक्छ ।

निकै सुर वीर कहिलिएका जङ्गको मृत्यु यदि कसैको खुकुरी प्रहारबाट भएको भन्ने जानकारी बाहिर आएमा जङ्ग मात्र होइन राणाहरू नै कमजोर सावित हुन सक्छ भनेर पनि यो घटना लुकाइएको हुन सक्छ । त्यो समय श्री ३ को वरपर नजिकका भाइभारदार मात्र हुने हुँदा पनि अन्यले वास्तविकता देख्न वा सुन्न पाउँदैनथे । त्यो समय कसैले शंका मात्र गरेपनि तत्कालै काटिने डर पनि हुन्थ्यो, तसर्थ ज्यान जोगाउन पनि चुपचाप बस्न बाध्य हुने गर्दथ्यो । आज इतिहासमा वास्वतिक प्रमाण भेट्न मुश्किल भए पनि त्यो बेलाका घटना विवरणले केही अडकल भने अवश्य गर्न सकिन्छ ।

प्रतिक्रिया