सामाजिक न्यायका अभियन्ता पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ २०८१ सामाजिक न्यायका लागि विशिष्ट योगदान दिएका अभियन्ता पदम सुन्दासलाई प्रदान गरिने भएको छ ।
शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार छनोट समितिले सुन्दासलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो। प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कारको राशी १ लाख १० हजार रुपैयाँ रहेको छ।
२००२ साल असार ३२ गते भोजपुरमा जन्मिएका सामाजिक न्यायका प्रखर अभियन्ता पदम सुन्दासले बहराइनका लागि नेपालको राजदूतका रूपमा २०७४ देखि २०७८ सम्म सेवा गरेका थिए। सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालय अन्तर्गत जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन संयन्त्रमा राष्ट्रिय सल्लाहकार समितिको सदस्यको भूमिका निर्वाह गरेका थिए।
सामाजिक न्यायका लागि क्रियाशील एक दर्जन बढी संस्थामा आबद्ध सुन्दासले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए। सामाजिक न्यायको पक्षमा अनसन र संघर्षमा सक्रिय रहँदै उनले २०७२ सालमा दलितमैत्री संविधानको माग गर्दै तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका निर्वाह गरेका थिए।
नेपाल सरकारको स्थानीय विकास मन्त्रालय अन्तर्गत उपेक्षित उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको रूपमा सेवा गरिसकेका सुन्दास नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको २० वर्षसम्म अध्यक्ष, नेपाल उत्पीडित दलित जातीय मुक्त समाज र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका उपाध्यक्षका रूपमा कार्यरत थिए। उनी एशिया दलित अधिकार मञ्चका संस्थापक सदस्य समेत हुन्।
उनका कृतिहरूमा ‘भोजपुरको चिनारी’ नामक पुस्तक र ‘चोरिएको रात’ कथा संग्रह २०२५ सालमा प्रकाशित भइसकेका छन्। सुन्दासले दक्षिण अफ्रिकामा सन् २००१ मा सम्पन्न जातिभेद विरुद्धको तेस्रो विश्व सम्मेलन, स्वीजरल्याण्डमा सन् २००९ मा सम्पन्न डर्बान रिभ्यु कन्फरेन्स लगायत दर्जन बढी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता जनाइसकेका छन्। सन् २००८ मा संविधान निर्माण प्रक्रिया अध्ययनका क्रममा भारत भ्रमण गरेका थिए भने सन् २०१४ मा अमेरिकाको न्यु स्कुलमा मानव अधिकार र दलित समस्याबारे प्यानलिस्टका रूपमा प्रस्तुत भएका थिए।
२०७३ सालमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’ बाट सम्मानित भइसकेका सुन्दासलाई प्रदान गरिने ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ ले सामाजिक न्यायका क्षेत्रमा उनको योगदानलाई थप सम्मान प्रदान गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया