दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना-टपरी उद्योग

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरु गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुना–टपरी उत्पादन गर्न सुरु गरेका हुन् ।
प्लाष्टिकजन्य वस्तुले सहरबजार मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथै वातावरणमा प्रतिकूल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न सालको पातबाट दुना-टपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले उद्योग स्थापना गरेको सञ्चालक राईले बताए। मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा रू पाँच र टपरीको प्रतिगोटा रू आठका दरले निर्धारण गरिएको जनाइएको छ ।
निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसरसमेत दिलाउने उद्देश्यले दुना-टपरी उद्योग स्थापना गरिएको सञ्चालक राईले जानकारी दिएका छन् ।
गाउँमा हुने हरेक बिहे-कार्जे, भोज-भतेर तथा पूजापाठमा दुना-टपरी प्रयोग एवं त्यसमा राखेर खाने परम्परा लोप हुनै लागेकाले पनि मेसिनमार्फत व्यावसायिकरूपमा दुना-टपरी बनाउन सुरु गरिएको सञ्चालक राईले बताए ।
बाम्राङमा उत्पादित दुना–टपरी गाउँमा हुने पूजापाठ, विवाह तथा व्रतबन्धका साथै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको जनाइएको छ । बाम्राङमा दुना–टपरी उद्योग सञ्चालन भएपछि उपभोक्तालाई समेत सहज भएको छ ।
उता, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा दुना–टपरी उद्योग सञ्चालन गरेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गर्दै नगरपालिकाले दुना–टपरी उद्योग सञ्चालन गरेको हो ।
च्यास्मिटार कृषि महिला सहकारी संस्थामार्फत सञ्चालित उद्योगमा उत्पादित दुना प्रतिगोटा रू पाँच र टपरी प्रतिगोटा रू दशमा बिक्री सुरु गरिएको छ । सहकारी संस्थामा आबद्ध महिलालाई सात दिनको तालिम दिएर दुना–टपरी उद्योग सञ्चालनमा ल्याइएको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले अर्खौलेमा पनि दुना–टपरी उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ ।हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दर्शन तथा पूजापाठ गर्न आउने भक्तजनलाई अनिवार्य स्थानीयस्तरमा उत्पादित दुना–टपरीमात्र प्रयोग गर्ने/गराउने तयारी गरिएको नगरप्रमुख विमला राईले जानकारी दिएका छन् ।








प्रतिक्रिया