शुक्रबार, वैशाख १२, २०८२

हिमवत्खण्ड–सांस्कृतिक उत्सव

नेपालखोज २०८१ चैत १ गते २०:००

काठमाडौं । हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को दोस्रो दिन आज सांस्कृतिक उत्सव (कन्सर्ट) भएको छ ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने सम्मिलनअन्तर्गत राष्ट्रिय सभागृहमा भएको कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘म मरेपछि पनि सपना देख्न पाऊँ…’ भावको कवितामा कलाकार वीरेन्द्र हमालको नाट्य प्रस्तुुति गरिएको थियो ।

उक्त कविता प्रधानमन्त्री ओलीले २०७५ असार २९ देखि ३१ गतेसम्म चन्द्रागिरिमा आयोजित सम्मिलनको पहिलो शृङ्खलाका क्रममा रचना गरेका थिए ।

कन्सर्टमा मौलिक नेपाली लोकधुन, नृत्य, म्यानमार तथा भारतको आसाम, दार्जिलिङ, मेघालय, सिक्किमलगायत क्षेत्रका लोकसंस्कृति प्रस्तुत गरिएको सम्मिलनका अन्तरराष्ट्रिय सम्पर्क संयोजक शशी लुमुुम्बले जानकारी दिए ।

सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरूले विषयगत गोष्ठीपत्र प्रस्तुति र छलफलको क्रम आइतबार पनि जारी रहनेछ ।

प्रधानमन्त्री ओलीले सम्मिलनमा सहभागी स्वदेशी र विदेशी सहभागीलाई शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा स्वागत गरेका थिए ।

यही आइतबारसम्म आयोजना हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्यान्डलगायत देशका गरी करिब ५०० स्रष्टाहरूको सहभागिता रहेको छ ।

सम्मिलनको शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो भने आइतबार प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट समापन हुनेछ ।

प्रतिक्रिया