वीरगञ्जमा लामखुट्टेको आतंक बढ्यो

वीरगञ्ज । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् ।
वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् ।
होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि महानगरको भित्री सडकमा फोहरमैला उठ्न सकेको थिएन ।
त्यहीे कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो । जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरूआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो ।
वीरगञ्ज महानगर वडा नं ६ मिनाबजारमा व्यापार गर्दै आइरहेका परशुराम तेली पनि अत्यधिक मात्रामा वीरगञ्जमा लामखुट्टे देखिए पनि वीरगञ्ज महानगरले लामखुट्टेको स्प्रे छर्किनलाई बेवास्ता गरेको बताए ।
‘एक त वीरगञ्जको नाला खुल्लै छ । जसको कारणले लामखुट्टेको आतङ्क बढेको बढ््यै छ’, उनले भने, ‘मेयरसाबले वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउँछु भन्नुहुन्छ । यहाँ त मच्छडगञ्ज भइसक्यो ।’ डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरूवा रोग हो ।
डेङ्गीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको छ ।
वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले आइतबारदेखि वीरगञ्जका वडामा लामखुट्टे मार्नका लागि ३२ वटै वडामा कार्यतालिका बनाएर लामखुट्टे मार्ने अभियान सुरू गर्न लागेको जानकारी दिए ।
यद्यपि वीरगञ्ज महानगरले गत फागुन २५ गते लामखुट्टे नियन्त्रणको लागि चैत ३ गतेदेखि पम्प तथा ऐयर स्पे कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरेको थियो । यो अभियान आइतबारदेखि चैत २४ गतेसम्म जारी रहने बताइएको छ । रासस








प्रतिक्रिया