श्रष्टालाई सम्मान गर्दै शुरु भयो भ्वाइस युनिभर्स र डान्स युनिभर्सको पूर्वी अडिसन

काठमाडौं । विश्वभरका नेपाली प्रतिभाहरु प्रतिष्पर्धा हुने दुई रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको पूर्व क्षेत्रका लागि तय भएको अडिसन शनिवार शुरु भएको छ । सयौं प्रतिष्पर्धीहरुको भीडभाडका बीच पूर्वका दुई श्रष्टा बरिष्ठ गीतकार शिवशंकर थापा र बरिष्ठ गायक कुवेर राईसहित आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर गरेका थिए ।
याे अवसरमा अध्यक्ष अधिकारीले नेपाली संगीत क्षेत्रमा स्थापित श्रष्टा द्धयलाई पुष्पगुच्छा एवं नगद रकमले सम्मान गरेका थिए । याे अवसरमा अध्यक्ष अधिकारीले कलाकारहरु समाजका अगुवा हुने हुनाले समाजलाई उदाहरण बनेर डोहोर्याउन आग्रह गरे ।
उनले नेपालीपन र नेपाली पहिचानलाई विश्वभर रहेका नेपालीजनमा जीवन्त राख्न, अर्को पुस्तामा पनि नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न र विश्वभरका नेपालीलाई नेपाली कला संस्कृतिका माध्यमबाट नेपालसंग जोड्नका लागि यी दुई रियालिटी शोहरु आयोजना गरिएको बताए ।
मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स पूर्वी क्षेत्र अडिसनका संयोजक रुपक ओडारीले दिएको जानकारीअनुसार, सो क्षेत्रमा दुवै शोका लागि ११ सय ४३ प्रतिभाहरुले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएका छन् । पहिलो दिन शनिवार विर्तामोडको ग्रीन फिल्ड स्कूलमा विहान ११ बजेदेखि शुरु भएको अडिसनमा ६ सयको हाराहारीमा प्रतिभाहरुले प्रतिष्पर्धा गरेका छन् । बांकी प्रतिष्पर्धीहरुले आइतवार सहभागिता जनाउने छन् ।
आयोजक संस्थाका राजेश घतानीका अनुसार, इच्छुक प्रतिभाहरुले सिधै अडिसनस्थलमै गएर पनि नाम दर्ता गराउन सक्ने व्यवस्था भएकाले सहभागीहरुको संख्या बढेको छ । उनका अनुसार, गायनमा प्रतिष्पर्धीको संख्या धेरै भएकाले प्रिअडिसनमा छनौट भइसकेपछि अडिसनमा सहभागी गराइएको र त्यसबाट पनि छनौट भएकालाई फाइनल अडिसनमा लगी अन्तिम छनौट गरिएको छ । नृत्यको लागि भने प्रि अडिसन र फाइनल अडिसन गरी दुई चरणमा प्रतिष्पर्धीको छनौट प्रक्रिया निर्धारण गरिएको उनले बताए ।
प्रतिक्रिया