सोमबार, मंसिर २९, २०८२

अत्याधुनिक प्रणाली मार्फत पानीपोखरीहरूको व्यवस्थापन र नयाँ वितरण सञ्जाल संचालन

नेपालखोज २०८१ चैत ४ गते १४:३३

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीहरूको व्यवस्थापन अत्याधुनिक प्रणाली सुपरभाईजरी कन्ट्रोल एण्ड डाटा एक्युजिसन (एससिएडिए) मार्फत गर्ने व्यवस्था गरेको छ ।

साथै, काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानहरूमा रहेका पानीपोखरीहरूबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि पिआईडीबाट विच्छ्याइएका नयाँ वितरण सञ्जालका पाइपलाइनको संचालन समेत एससिएडिए मार्फत गर्ने व्यवस्था मिलाइएको छ ।

सोही व्यवस्था अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्ष कन्ट्रोल रुमबाट एससिएडिए प्रणाली मार्फत पानीपोखरीहरूको व्यवस्थापन र वितरण सञ्जालको संचालन गर्न थालिएको छ ।

साथै, एससिएडिए प्रणाली मार्फत मेलम्चीको पानीको आपूर्ति सम्बन्धी विवरण सहितको प्रत्यक्ष जानकारी केयुकेलको केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने व्यवस्था गरिएको छ ।

यसैगरी, एससिएडिए प्रणाली मार्फत उपत्यकाका १५ वटै पानीपाखरीहरूमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था गरिएको छ । यस्तै, नमूनाका रूपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरहरूमा जडान गरिएका धाराहरूमा स्वचालित विद्युतीय मिटर जडान गर्ने कार्य समेत गरिएको छ ।

प्रतिक्रिया