जल उत्पन्न विपद्बाट समुदायलाई जोगाउन काम लाग्ने हेकरास सफ्टवेयरको तालिम सुरु

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) को आह्वानमा नेपालमा बाढी भविष्यवाणी गर्न र जल उत्पन्न विपद्हरूबाट समुदायलाई जोगाउन काम लाग्ने हेकरास सफ्टवेयरको तालिम सुरु भएको छ ।
नेपाल सरकार, जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा कार्यक्रम भएको हो । नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत कार्यक्रम भएको हो ।
हरेक वर्ष मे महिनाको तेस्रो हप्तामा उक्त संगठनका सबै सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने सप्ताह यसवर्ष नेपालमा चैत्र १० गतेसम्म परेको छ ।
कार्यक्रममा नेपालका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले यी कार्यक्रमहरू गर्ने गर्दछ । सप्ताहको पहिलो दिन जल तथा मौसमविद् समाज–नेपाल (सोहम)ले एभरेष्ट इन्जिनियरिङ कलेज, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमी), द स्मल अर्थ नेपाल (सेन) र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो ।
जल तथा मौसमविद् समाज–नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठले हेकरास विश्वभरी नै प्रयोग हुने सफ्टवेयर भएकोले तालिमबाट प्राप्त ज्ञान तथा सीपको प्रयोगबाट नेपालका नदीनालाहरू सम्बन्धी अनुसन्धान गर्न र विश्वका कुनै पनि देशमा सेवा प्रदान गर्ने सक्षम हुने जानकारी दिए ।
प्रशिक्षार्थीहरूले आफुले आर्जन गरेको सीप प्रयोग गरी आफ्नो शोध र थेसिस लेखनमा प्रयोग गर्न सकिने अभिव्यक्ति उनले दिए । कार्यक्रमका मूल स्रोत व्यक्ति इन्जिनियर विनय शाक्यले तालिमबाट प्राप्त सीपको निरन्तर प्रयोगबाट प्रशिक्षार्थीहरूको क्षमता थप अभिवृद्धि हुने जनाए ।
तालिम कार्यक्रममा सरकारी, गैसस, निजी कम्पनी तथा विश्वविद्यालयका विद्यार्थी गरी २८ जना प्रशिक्षार्थीहरू सहभागी छन् । एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य विरोध रिजाल तथा सहायक प्राचार्य राजन लामाको उपस्थितिमा कार्यक्रम प्रारम्भ गरिएको थियो ।
प्रतिक्रिया