शनिबार, वैशाख १३, २०८२

व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न

नेपालखोज २०८१ चैत ५ गते १७:१८

ललितपुर । नेपालमा व्यावसायिक अभ्यासलाई मानव अधिकार सिद्धान्तमा आधारित गर्ने महत्वपूर्ण कदमको रूपमा, सरकार, राष्ट्रिय मानव अधिकार संस्था, निजी क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय विकास साझेदार संस्था लगायतका सरोकारवालाको सहभागितामा राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ ।

संवादमा व्यवसाय र मानव अधिकार सम्बन्धी नेपालको राष्ट्रिय कार्य योजनाको कार्यान्वयनलाई तीव्र पार्ने उपायबारे छलफल गरियो। मुख्य छलफल जिम्मेवार व्यावसायिक आचरण, नैतिक आपूर्ति श्रृंखला, कर्पोरेट उत्तरदायित्व, नियामक संरचना, र सरकारको मानव अधिकार–अनुकूल व्यापार अभ्यासलाई प्रवद्र्धन गर्ने भूमिकामा केन्द्रित रह्यो ।

स्वागत मन्तव्य राख्दै राष्ट्रिय व्यवसायिक पहलका उपाध्यक्ष सुकुन्तलाल हिराचनले चुनौती समाधान गर्न र व्यवसायले मानव अधिकारलाई समर्थन गर्ने अवसर पहिचान गर्न सहकार्यको महत्वलाई जोड दिए ।

कार्यक्रमको दोश्रो शत्रमा एक उच्चस्तरीय प्यानल छलफलको आयोजना गरियो जसमा सरकारी अधिकारी, राष्ट्रिय मानव अधिकार संस्थाका अधिकारी, संयुक्त राष्ट्रसंघका प्रतिनिधि, व्यवसायिक नेतृत्व, र ट्रेड युनियनका प्रतिनिधिको सहभागीता रह्यो । छलफलले व्यवसाय सञ्चालनमा मानव अधिकारलाई समावेश गर्नुपर्ने आवश्यकतालाई जोड दिंदै, संयुक्त राष्ट्रसंघको व्यवसाय र मानव अधिकारसम्बन्धी मार्गदर्शक सिद्धान्तको आधारमा व्यवसाय सञ्चालनमा मानव अधिकारलाई प्राथमिकताका साथ समाविष्ट गर्न र जिम्मेवार व्यावसायिक आचरणलाई प्रवद्र्धन गर्न निजी क्षेत्रको निर्णायक भूमिकालाई उजागर गर्यो ।


संयुक्त राष्ट्र विकास कार्यक्रम एसिया तथा प्यासिफिक क्षेत्रीय उपनिर्देशक क्रिस्टोफ बहुएटले व्यवसायले आफ्नो रणनीतिमा मानव अधिकारलाई कसरी समावेश गर्न सक्छन् भन्ने बारे अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासको सन्दर्भमा क्षेत्रीय र विश्वव्यापी दृष्टिकोण प्रदान गरे । साथै, उनले व्यवसाय र मानव अधिकार सम्बन्धी रूपरेखाको प्रभावकारी कार्यान्वयनका लागि बहुपक्षीय संलग्नताको आवश्यकतामा जोड दिए ।

स्विस राजदूत डा. ड्यानिएल मिउली र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले पनि विश्वव्यापी मापदण्ड, कर्पोरेट उत्तरदायित्व, र बहुपक्षीय सहकार्यद्वारा व्यवसाय र मानव अधिकार प्रवद्र्धन गर्न सकिने उपायबारे आफ्ना दृष्टिकोण साझा गरे ।

प्रतिक्रिया